निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा व्यवस्था कडा

मंसिर २०, काठमाडौं । सरकारले भोली दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै ४५ जिल्लामा आजैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । भोली निर्वाचन हुने सबै जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यलयबाट सुरक्षा चेकजाँच तथा गस्तीलाई चुस्त पारेको छ ।

निर्वाचन सुरक्षाका लागि बुथ सुरक्षा टोलीका साथै पैदल टोली, मोबाइल टोली, सादा पोशाक टोली लगायत रिजर्भ टोली खटाइएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले निर्वाचनका देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए ।

यसक्रममा प्रहरीले देशका विभिन्न स्थानबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा झण्डै १ हजार जनालाई पक्राउ गरेको छ । निर्वाचन नजिकिएसँगै प्रहरीले राजनीतिक दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गर्ने ९ सय ५७ जनालाई देशका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जना रहेको प्रहरीले जनाएको छ ।

यसैबिच, रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्ने उच्छृंखल तत्वहरुलाई गोली हान्ने अधिकार नेपाली सेनालाई दिईएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको विशेष साक्षात्कारमा रक्षामन्त्री प्रधानले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताहरुको भरपर्दो सुरक्षा प्रबन्ध गरेकोले ढुक्क भएर मतदान गर्न आग्रह गरे ।

उनले निर्वाचन विरोधी गतिविधि गर्ने ६ सय भन्दा बढिलाई पक्राउ गरिएको र मुद्दा चलाईएको जानकारी दिए । सरकारले निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण निकाय परिचालन गरेको र हेलिकप्टरमार्फत पनि अनुगमन भैरहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *