मौन अवधिमा मतदाता किन्न खोज्दा राप्रपा (प्रजातान्त्रिक)का नेता पक्राउ

१९ मङ्सिर, धनकुटा । निर्वाचनको मौन अवधिमा पैसा बाड्दै गर्दा धनकुटामा एक वडाध्यक्ष फन्दामा परेका छन् । भोट किन्नका लागि गाउँमा पैसा बाँड्न लैजादै गरेको आरोपमा मङ्गलवार साँझ धनकुटामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का वडाध्यक्ष नगदसहित पक्राउ परेका छन् । राप्रपा प्रजातान्त्रिक धनकुटा–२ भीरगाउँका वडाध्यक्ष राजकुमार राई १ लाख ६९ हजार ५ सय नगदसहित पक्राउ परेका हुन ।

बाम गठबन्धन सम्बद्ध युवाहरूले धनकुटा–३ कागतेबाट उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको बाम गठबन्धन युवा परिचालन समितिका नगर संयोजक मनोज राईले बताए ।

मौन अवधिमा मतदातालाई पैसा बाँडेर भोट किन्न लागेको थाहा पाएर उनलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाइएको राईको भनाई छ । ‘गाउँमा पैसा बाँड्न लागेको थाहा पाएपछि हामीले उनलाई दिउँसैबाट पच्छाई रहेका थियौ ।’ राईले भने ‘धनकुटाबाट पैसा लिएर गाउँ गएपछि हामीले पक्रिएर प्रहरीमा बुझाएका हौँ ।’ धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

एमाले सचिवालय सदस्य अर्जुन राईले निर्वाचन आचारसंहिताको खिल्ली उडाउँदै पैसाको भरमा चुनाव जित्नका लागि गरिब जनतालाई आर्थिक प्रलोभनमा पार्न खोजेकोले पक्राउ गर्नुपरेको बताएका छन् ।

धनकुटामा प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापा र बाम गठबन्धनको तर्फबाट एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राई उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *