चार दिन भित्रमा प्रत्यक्ष तर्फको सबै मत परिणाम आउने आयोगको दावी


“
मंसिर १९, काठमाडौं । हुने निर्वाचनको सम्पूर्ण तयार पुरा भएको जनाएको निर्वाचन आयोगले ४ दिनभित्रै प्रत्यक्षतर्फको सबै मतगणना सकिसक्नेगरी तयारी गरिएको जानकारी दिएको छ । निर्वाचन आयोगले आज राजधानीमा पत्रकार सम्मेलन गरी राजनीतिक दलका प्रतिनिधिबाट कुनै अवरोध नभए प्रत्यक्षतर्फको ४ दिन र समानुपातिकको ८ दिनमा अन्तिम मतपरिणाम सार्वजनिक गर्नेगरी तयारी गरेको आयुक्त इश्वरी प्रसाद पौडेलले जानकारी दिए ।
आयोगले व्यवस्थापनअनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फको र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना पहिले गर्ने र अन्तिम परिणाम सार्वजनिक भएपछि समानुपातिकको गणना गर्ने जनाएको छ । आयोगले पहिलो चरणको निर्वाचनको मतगणना २१ गते बेलुकादेखि थाल्ने र दोस्रो चरणको मतगणना सम्पूर्ण मतपेटिका सम्बन्धित ठाउँमा पुगेपछि थाल्ने जनाएको छ ।
मतगणनाकाक्रममा दलका प्रतिनिधिले मतपत्र छुन नपाउने गरी व्यवस्था मिलाइएको तथा मतगणक र दलका प्रतिनिधिबीच तारबार, जालीका साथ निश्चित दूरी राखिने आयोगले जनाएको छ । आयोगले थोरै मतदाता रहेका निर्वाचन क्षेत्रको मतपरिणाम २४ घन्टाभित्र आउने र धेरै मतदाता संख्या भएको क्षेत्रको मतगणनाका लागि आवश्यकताअनुसार कर्मचारी खटाउने जनाएको छ ।
यस्तै, मतगणनास्थलमा प्रवेश पाउने कसैले पनि मोबाइल, लाइटर, सलाई, एसिडजस्ता प्रज्वलनशील र घातक सामग्री लैजान नपाउने र कडा सुरक्षा चेकजाँच गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
यता, प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पर्सि हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारलाई लक्षित गरेर घटाइएका घटनाहरुप्रति खेद प्रकट गर्दै निर्वाचनको व्यवस्थापकीय काम पनि पूरा भइसकेको जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा व्यापक उत्साह देखिएको भन्दै आफूहरुले निर्वाचनलाई पर्वको रुपमा लिएको समेत बताए ।
यसैबिच, दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता परिचय पत्र वितरण आजबाट सुरु भएको छ ।
मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणको व्यवस्था मिलाइएको छ । निर्वाचन आयोगका अनुसार आज र भोली मतदाता परिचय पत्र वितरणको कार्यक्रम छ ।
आफ्नो परिचयपत्र लिन आफूले भोट हाल्ने मतदान केन्द्रमा जानुपर्नेछ । आयोगका कर्मचारीहरुले परिचय पत्र वितरणसँगै मतदाता शिक्षा पनि दिनेछन् । परिचयपत्र लिन जाँदा आफ्नो परिचय खुल्ने कुनै सरकारी कागजात वा स्थानीय तह निर्वाचनको मतदाता परिचयपत्र देखाउनुपर्ने छ । एउटै परिवारका सदस्यहरु लिन जान सम्भव नभए परिचय खुल्ने अन्य कुनै कागजात देखाएर आफ्नो घरका सदस्यको परिचय पत्र देखाएर ल्याउन सकिने आयोगले जनाएको छ ।
“
