सरकारद्धारा सर्वसाधारणलाई सतर्क रहन अपील


“
काठमाडौं, मंसिर १९ । देशका विभिन्न ठाउँमा बम विस्फोटका घटनाबाट आतंक सृजना गर्ने प्रयास नरोकिएपछि सरकारले सर्वसाधारणलाई सतर्क रहन अपील गरेको छ । सार्वजनिक सूचना नै निकालेर गृह मन्त्रालयले विस्फोटको घटना बढेकाले सर्तक रहन आग्रह गरेको हो ।
मन्त्रालयले आफ्नो गाउँ घर, छर छिमेक वरपर कोही नचिनेको व्यक्ति वा शंकास्पद गतिविधि र शंकास्पद वस्तु वा सामान देखे तत्काल प्रहरीमा खबर गर्न आग्रह गरेको छ ।
प्रहरी कन्ट्रोलको सम्पर्क नम्बर एक सय वा नजिकको सुरक्षा निकायमा खबर गरी सहयोग गर्न मन्त्रालयले सर्वसाधारणसँग अपील गरेको हो ।
मंसीर २१ गते हुने दोस्रो चरणको चुनाव नजिकिँदै गर्दा उम्मेदवारलक्षित विस्फोटको घटना एकपछि अर्को गर्दै भइरहेको छ । आक्रमणबाट उम्मेदवारदेखि प्रचारमा हिंडेका कार्यकर्तासमेत घाइते बनाइएका छन् ।
यसैबीच, सरकार र सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा बनाएको बताएपनि थुप्रैं नाका पार गरेर विस्फोटक पदार्थ भित्रिरहेकोप्रति भने विज्ञहरुले प्रश्न गरेका छन् ।
गुप्तचर र सूचना संयन्त्र कमजोर हुँदा यस्ता घटना बढेको उनीहरुको दावी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत गस्ती र निगरानी बढाउँदा पनि घटना रोकिएका छैनन् ।
बरु प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख जस्ता उच्च पदस्थ व्यक्ति बस्ने र चौबीसै घण्टा उच्च सुरक्षा हुने स्थान बालुवाटारमै चुनाव विरोधीहरुले बम विष्फोटको घटना गराउनु निकै गम्भीर मानिएको छ ।
“
