सिरहामा १०९ मतदान स्थल अति संवेदनशिल, सुरक्षा सतर्कता बढाईयो


“
सिरहा, मंसिर १९ । आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि दुईसय २१ मतदान स्थलमध्ये १०९ मतदान स्थललाई अति संवेदनशिल मानिएको छ । ८४ मतदान स्थल लाई संवेदनशिल र २८ लाई सामान्य मतदान स्थल भनेर विभाजन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोईरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा नेपाल प्रहरी १६ सय, शसस्त्र प्रहरी झन्डै दुई हजार, नेपाली सेना २ हजार र म्यादी प्रहरी २३ सय ५० परिचालन गरिएको छ ।प्रहरी निरिक्षकको कमाण्डमा ३० जना मोवाईल प्रहरी, जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय गोलवजारमा २ वटा रिजर्भ फोर्स, सिरहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा जिल्लामा कमाण्ड पोष्ट पनी खडा गरिएको कोईरालाले जानकारी दिनुभयो ।
मंसिर २१ गते दोश्रो चरणमा हुने प्रदेश र प्रतिनीधिसभा निर्वाचनमा सिरहामा एघार हजार ४ सय ७५ मतदाता संख्या बढेको कारण ५ वटा मतदान केन्द्र थपिएको छ । ४३६ मतदान केन्द्र रहेको जिल्लामा एक लाख ६० हजार २ सय ६७ महिला, एक लाख ८४ हजार १ सय एक पुरुष र २ तेस्रो लिङ्गी मतदाता गरी जम्मा तीन लाख ४४ हजार तीनसय ७० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय सिरहाका निर्वाचन अधिकृत ईन्दिरा यादबले जानकारी दिनुभयो । सिरहामा प्रतिनिधी सभाका लागि चार निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि आठ निर्वाचन क्षेत्र रहेको छ ।
“
