रिमोट कन्ट्रोलबाट बम विष्फोट गराइएको आशंका, गगन भन्छन्- ‘संयोगले बाँचे’

“
मंसिर १८, काठमाडौं । काठमाडौंको चपलीमा सोमबार कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरी रिमोट कन्ट्रोलबाट बम बिष्फोट गराइएको प्रहरीले आशंका गरेको छ । रिमोट कन्ट्रोलबाट बम बिष्फोट गराइएको हुन सक्ने देखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख रविन्द्र धानुक बताए ।
धानुकका अनुसार घटनास्थलबाट अनुसन्धानका क्रममा ४० जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
विस्फोटमा काठमाडौं ४ का उम्मेदवार थापासहित ११ जना घाइते भएका छन् । उनीहरु मध्ये चारको अवस्था गम्भीर छ । सबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घरदैलो अभियानका क्रममा सडकमा हिडिँरहँदा विस्फोट भएको थापाले बताए ।
भने, ‘घरदैलो निर्धारित समयभन्दा ढिला सुरु भएकाले जुलुसलाई अगाडि तान्नु पर्यो भनेर म र एक जना साथी अगाडि बढेका थियौं । त्यसैले म बचेँ । अरु साथीहरु पर्नुभयो ।’
विस्फोट आफूलाई लक्षित गरेर नै भएको हुनसक्ने उनले बताए । एक घन्टा ढिलो घरदैलो सुरु भएको भन्दै उनले भने, ‘लुजुसलाई छिटो लैजान पाइला अघि छिटो चालेकाले म संयोगले बचेँ । तर, मेरो पछाडिको पङ्ती पर्यो ।’
गगनमाथि भएको आक्रमणप्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।”








