म्यानचेस्टर सिटीको कीर्तिमानी जित


“
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले कीर्तिमानी १३ औँ जित दर्ता गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हराएर प्रिमियर लिगमा लगातार १३ औँ जित दर्ता गरेको हो ।
पहिलो हाफमा १–० ले पछि परेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । ४४ औँ मिनेटमा एन्जेलो ओग्बोन्नाले हेड मार्फत गोल गर्दै वेष्ट ह्यामलाई सुरुवाती अग्रता दिलाए । तर, दोस्रो हाफमा पेप गार्डिवलाको टिमले राम्रो प्रदर्शन गर्यो । ५७ औँ मिनेटमा निकोलस ओटामेन्डीले सिटीका लागि बराबरी गोल फर्काए । ८३ औँ मिनेटमा डेविड सिल्भाले केविन डी ब्राउनको पासमा गोल गर्दै सिटीलाई २–१ को जित दिलाए । यो जितसँगै सिटीले लिगमा एकै सिजन लगातार धेरै खेल जित्ने कीर्तिमानमा बराबरी गरेको छ ।
चेल्सीले गएको सिजन लगातार १३ खेल जित्दै बनाएको कीर्तिमानमा म्यानचेस्टर सिटीले बराबरी गरेको हो । यस्तै, आर्सनलले पनि सन् २००१/०२ को सिजनमा लगातार १३ खेल जित्दै पहिले कीर्तिमान बनाएको थियो । जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको १५ खेलबाट ४३ अङ्क भएको छ र उसले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अङ्क दूरी फेरि ८ अङ्क कायम गरेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको वेष्ट ह्यामको १० अङ्क मात्रै छ । राति नै भएको अर्काे खेलमा बोर्नमाउथ र साउथह्याम्पटनले १–१ को बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
“
