इन्जुरी समयमा किपरले गोल गरेपछि…

एजेन्सी । इटालियन सिरी ए फुटबलको इतिहारमा एक गोलरक्षकले आफू र क्लबका लागि बिर्सन नसकिने इतिहास बनाएका छन् । पहिलो पटक इटालीको शीर्ष लिग सिरी ए खेलिरहेको बेनेवेन्तोले गोलरक्षकको गोलबाट लिगमा पहिलो अङ्क जोडेर इतिहास बनाएको हो ।

पहिलो पटक सिरी ए खेलिरहेको वेनेवेन्तोले लिगका १४ खेलसम्म आउँदा एक अङ्क पनि जोड्न सकेको थिएन । तर, लिग अन्तर्गत आइतबार राति भएको खेलमा बलियो टिम एसी मिलानलाई २–२ को बराबरीमा रोक्दै बेनेवेन्तोले लिगमा पहिलो अङ्क जोडेको हो ।

खेलको इन्जुरी समयसम्म पनि बेनेवेन्तोलाई लिगमा अङ्कको खाता खोल्नका लागि अर्को खेल पर्खनु पर्ने जस्तो देखिएको थियो । तर, इन्जुरी समयको पाँचौँ मिनेटमा गोलरक्षक अल्बर्टो ब्रिग्नोलीले हेड मार्फत गोल गर्दै टिमलाई हारबाट जोगाए र क्लबलाई ऐतिहासिक एक अङ्क दिलाए । त्यस अघि ३८ औँ मिनेटमा एसी मिलानका लागि बोनावेन्तुरा, ५० औँ मिनेटमा बेनेवेन्तोका लागि पुस्कास तथा ५७ औँ मिनेटमा एसी मिलानका लागि केलिनिकले गोल गरेका थिए ।

७५ औँ मिनेटमा रोमाग्नोली दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एसी मिलान १० खेलाडीमा सीमित भएको थियो । बेनेवेन्तोका लागि महत्त्वपूर्ण एक अङ्क दिलाएका गोलरक्षक ब्रिग्नोलीले आफू निकै खुसी रहेको र यो खुसी आफ्ना लागि मात्रै नभएर सबैका लागि रहेको बताएका छन् । २६ वर्षका ब्रिग्नोली युभेन्टसबाट लोनमा बेनेवेन्तो गएका हुन् । तर, उनले युभेन्टसबाट एक खेल पनि खेलेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *