डा. शर्माको चुनावी अभियान- पार्टीको कार्ड जिम्मा लगाउनेदेखि पाप लाग्छ भन्नेसम्म


“मङ्सिर १७, मोरङ । आगामी मङ्सिर २१ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा दोस्रो चरणको निर्वाचनको मौन अवधि लागू हुन एक दिन बाँकी रहेपनि मोरङ क्षेत्र नम्बर–३ को चुनावी माहोल भने रौनक देखिन्छ । सो क्षेत्रमा नेपाली काँग्रेसबाट डा. सुनिल कुमार शर्मा र बाम गठबन्धनबाट एमाले सचेतक भानुभक्त ढकालको उम्मेद्वारी रहेको छ ।
काँग्रेसबाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेद्वार डा.शर्मालाई भ्याइनभ्याइ छ । दैनिक दर्जनौँ चुनावी कार्यक्रममा उपस्थित भएर आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्दै आएका डा. शर्माको मुहार मात्रै हेर्न चाहने गाउँलेहरुको संख्या अझै अगणनीय रहेको छ । चुनाव प्रचार प्रसारका क्रममा आफूहरुले डा. शर्मालाई नभेटाएको भन्दै उनीहरुले फेरि भेटघाटको कार्यक्रम राखेपनि त्यो सम्भव नरहेको पार्टी संगठन विभागका प्रमुख मान बहादुर लिम्बु बताउँछन् । किनकि मौन अवधि सुरु हुन एक दिन मात्रै बाँकी रहेको छ ।
आइतबार बेलबारी नगरपालिकाका विभिन्न स्थानहरुमा चुनाव प्रचार प्रसारसँगै कोण सभा आयोजना गरियो । सयौँ एमाले–माओवादीका कार्यकर्ताहरुले काँग्रेसमा प्रवेश गरे । बेलाबारी–लालभित्तीदेखि सुन्दरहरैँचाको शुक्रबारे बजारसम्म आइपुग्दा चुनाव प्रचार प्रसारका क्रममा अनौँठा दृश्यहरु देखियो ।
माओवादी नेताको कार्ड शर्माको हातमा
चुनाव प्रचारकै क्रममा माओवादी केन्द्रका एक जना नेताले आफ्नो खल्तीमा भएको परिचय कार्ड सुनिल शर्माको हातमा थमाउँदै काँग्रेसमा प्रवेश गरे । शर्माले उनलाई अविर र खादा लगाउँदै पार्टीमा स्वागत गरे । त्यस्तै, ७२ वर्षीय एक जना बृद्धले गम्भिर मुद्रामा भने,‘सुनिल शर्मालाई एक भोट दिइएन भने छोरा नातिलाई पाप लाग्छ ।’ बेलबारीको कुसुम टोलमा गत असार २९ मा लोहन्द्रा खोलाको बाढीले आठ घरसहित एक जना बगाएको ठाउँमा पुग्दा डा. शर्माको सबैले जयजयकार गर्दै डा. शर्माको स्वागत गरे । त्यसपछि स्थानीयहरुले आफ्नो बस्तीबारे आफ्ना कुराहरु राखे । डा. शर्माले सुकुम्बासी जीवन बिताइरहेका उनीहरुको मागलाई मुख्य प्राथमिकतामा राखेको बचन व्यक्त गरे ।
यसरी सुन्दरहरैँचाको शुक्रबारे बजारमा आइपुग्दा आयोजित चुनावी सभामा असीमित जनसमुदायको उपस्थित थियो । उनीहरु सबै आफ्ना स्थानीय उम्मेद्वार हेर्न उत्साहित देखिन्थे । कार्यक्रम सुरु हुनुपूर्व नै उनीहरुले बादलले डाँडा ढाकेजसरी प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेद्वारद्वय डा. शर्मा र प्रदेश ‘ख’ तर्फका ललित श्रेष्ठलाई ढपक्कै ढाके ।
उक्त चुनावी सभामा पनि एमाले–माओवादी लगायत विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गर्नेको ओइरो नै लाग्यो । चौतर्फी ताली बज्यो । पार्टी प्रवेशसँगै चुनावी सभालाई सम्बोधन गर्दै डा. शर्माले आफ्ना मुख्य तीन एजेण्डाहरु जनतासमक्ष प्रस्तुत गरे ।
‘गरिब तथा निमुखा जनताहरुको पैसाको अभाबमा मृत्युवरण हुने छैन, यो क्षेत्रका तीन ठाउँमा २५/२५ शैय्याको अस्पताल निर्माण गरिनेछ । सके सरकारी तवरबाट नभए निजी स्तरबा उक्त सेवा ल्याइन्छ । त्यसपछि दलित जातिका एक सय र जनजाति लगायतका दुई सय बालबच्चाहरुलाई यो वर्षभित्रमा निःशुल्क पठन पाठन गराइन्छ ।’ त्यसपछि चौतर्फीबाट ‘पटटट’ तालीको आवाज गुञ्जियो ।
०४८ सालदेखि एकछत्र राज गर्दै आएको एमालेले विकासका नाममा सिन्को भाँच्ने काग नगरेको भन्दै स्थानीयहरुले डा. शर्माले चालेको त्यो कदम आफूहरुलाई साँच्चिकै स्वागतयोग्य भएको पनि बताए । कार्यक्रममा प्रदेश सभा ‘ख’ का उम्मेद्वार श्रेष्ठले कम्युनिष्टले तीस वर्षमा नगरेको काम पाँच वर्षमा गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।“
