सुनसरी–३ मा भगवती चौधरीका यस्ता छन् विकासे योजना

मङ्सिर १७, सुनसरी । प्रतिनिधिसभा निर्वाचनका लागि बाम गठबन्धनबाट उम्मेदवार रहनुभएकी भगवती चौधरीले जनताले विश्वास गरेर जिताएमा ५ वर्षसम्ममा देश विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेकपा एमालेबाट सुनसरी क्षेत्र नं. ३ का लागि प्रतिनिधिसभा निर्वाचनमा लड्नु भएकी नेतृ चौधरीले जनताको आर्थिक स्तर वृद्धि गर्न र विकासका पूर्वाधार निर्माण गर्न आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सुनसरी–३ का जनताहरू विकासमा सामान्य पूर्वाधारबाट समेत वञ्चित भएको अवस्थामा सामाजिक सेवा र राजनीति गर्दै गर्दा चुप लागेर बस्न नसकेरै निर्वाचनमा होमिएको नेतृ चौधरीको भनाई छ ।

उहाँले यो क्षेत्रको सर्वाङ्गिण विकासका लागि शिक्षा, स्वास्थ्य, आधुनिक कृषि प्रणाली, युवा स्वरोजगार जस्ता उद्यमशिलताका विषयलाई प्राथमिकता दिनुभएको छ । यहाँको शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात जस्ता विकासका प्राथमिक आधार निर्माण गर्न आफूसँग अल्पकालिन र दीर्घकालीन योजना नै रहेको उहाँको तर्क छ ।

‘सुुनसरी क्षेत्र नंं. ३ लाई एकल राजनीतिक उपनिवेशबाट मुुक्त गरी समृद्धि, स्वरोजगार, विकास र परिवर्तनकालागि मेरो उम्मेदवारी हो ।’ नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहनुभएकी नेतृ चौधरी भन्नुहुन्छ । २०४८ सालदेखि परिवर्तनको पखाईमा बसेका जनतालाई २६ वर्षदेखि शासनसत्तामा रजाई गरेकाहरुले निराश बनाएको उहाँको ठहर छ । ‘यस क्षेत्रमा आजसम्म न कुनै सडक बन्न सक्यो, न कुनै आधुनिक गुणस्तरको सामुदायिक विद्यालय नै, स्वास्थ्य, कृषि क्षेत्रका परियोजनाका कुरा त कागजमा मात्र सीमित भए । यहाँको विकासको मुख्य बाधक नै नेतृत्व हो ।’ उहाँ भन्नुहुुन्छ–‘जनतालाई सदैव झुक्याउने, प्रलोभनमा पार्ने खेलमात्र भईदिँदा विकास भएन ।’ उहाँको कथन छ ।

पूर्ण वहुुमतको स्थिर वामपन्थी सरकार निर्माण गरी देशलाई आर्थिक संवृद्धि तर्फ लैजान नेकपा एमाले र माओवादी केन्द्र बिचको सहमति अनुरूप यो क्षेत्रको विकासमा आफू सबै वर्ग, क्षेत्र, समुदाय र राजनीतिक आस्था राख्नेसँग हातेमालो गरेर जाने नेतृ चौधरीको भनाई छ । उहाँले यो क्षेत्रको विकास मात्र नभई देशकै आर्थिक समृद्धि हासिल गर्दै स्वाधीन अर्थतन्त्र निर्माण गर्न काम गर्ने योजना बनाउनु भएको छ । ‘आफ्नो क्षेत्रको विकासका लागि गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेर देशकै आर्थिक विकासमा मेरो भूमिका रहन्छ ।’

चौधरीले दशकौंदेखि यस क्षेत्रका जनतालाई भोट बैङ्क मात्र सम्झने राजनीति नियतिको अन्त्य गरी ५ वर्ष भित्र समृद्ध सहर बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आधारभूत शिक्षाको स्तरोन्नती गरी प्राविधिक शिक्षालयहरुको स्थापना गर्ने, स्वास्थ्यको पहुँच घरघरमा पुर्याएर र सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, सिटि अस्पताल सञ्चालन गर्ने, नागरिक स्वास्थ्य बिमा कोषको व्यवस्था गरी गरिब विपन्न परिवारलाई निःशुल्क उपचारको व्यवस्था गर्ने बताउनु भएको छ ।

खेलकुदको विकास गरी युवाहरूलाई स्वरोजगार र उद्यमशिल बनाउने, कृषि पकेट क्षेत्र बनाई उखुु तथा कृृषि अनुुसन्धान केन्द्र स्थापना र सञ्चालन गर्ने उहाँको योजना छ । यसै गरी चौधरीले महिला शशक्तिकरणका विषयलाई पनि प्राथमिकतामा राख्नु भएको छ । महिलालाई आर्थिक क्षेत्रमा पहुँच पुर्याएर उनीहरूको जिवनस्तर सुधार्न लागि पर्ने भन्दै उहाँले उद्यामशिलता र सिपविकासका कुरामा जोड दिनुभएको छ । भने, महिला हिंसा न्यूनिकरणमा प्राथमिकता दिने बताउनु हुन्छ ।

सुनसरी क्षेत्र नं. ३ कृषि र पशुपालनका लागि अत्यन्त सम्भावनाको क्षेत्र भएकोले पशुुपालनको पकेट क्षेत्र बनाई किसान कै शेयरमा जनता डेरी सञ्चालन गरी बेरोजगारी अन्त्य गर्ने उहाँको योजना छ । यसका अलावा नदी कटानलाई नियन्त्रण गरी प्राकृतिक जोखिम न्यूूनिकरण गर्नुका साथै वातावरण प्रदूषण मुक्त क्षेत्र बनाउन पहल गर्ने, विशेष कार्यक्रम अन्र्तगत महिलामैत्री, वालमैत्री, दलितमैत्री, अपांगमैत्री क्षेत्र बनाउने योजना छ ।

यो क्षेत्रमा कतिपय सडक सिंचाई, खानेपानी जस्ता आयोजनाहरू समयमै सम्पन्न नभइरहेको अवस्थामा ती योजनालाई प्राथमिकतामा आधारमा छिटो सम्पन्न गर्न उहाँको जोड रहनेछ । मजदूूर तथा व्यवसायी मैत्री उद्योगधन्दाको विकास गरी लगानी मैत्री वातावरण बनाउन पनि उहाँले जोड दिनुहुनेछ । यसका लागि यहाँका उद्योगी, व्यवसायी र मजदुरहरुसँग समन्वय गर्ने, राज्यस्तरबाटै उनीहरूको क्षमता र सिप विकासमा जोड दिने उहाँको लक्ष्य छ ।

अहिले यो क्षेत्रको बजार एरिया दुहवीलाई ‘टाउन प्लानिङ गर्ने, ईटहरीसँग जोड्ने गरी चक्रपथ निर्माण गर्ने उहाँको लक्ष्य छ । ‘विगतमा राज्य सञ्चालनमा गएकाले दुहवी क्षेत्रको समुचित विकासमा कुनै ध्यान नदिएपछि बढ्दो बजार व्यवस्थापनमा चुनौती थपिएको छ । दुहवी बजारलाई सुनसरीकै नमुना सहर बनाउने मेरो सपना छ ।’ उहाँको नारा नै छ । सहरमा वैज्ञानिक ढल व्यवस्थापन, फोहरमैला व्यवस्थापन, गुणस्तरीय खानेपानी व्यवस्थापन, हाट बजार व्यवस्थापन र सहरलाई स्मार्ट सिटीमा परिणत गर्ने चौधरीको सोच छ ।

सुनसरी क्षेत्र नं. ३ मा रहेका अब्यवस्थित सुकुम्बासीहरुलाई व्यवस्थित गरी उनीहरूलाई धनीपूर्जा दिलाउने, उनीहरूको आर्थिक स्थिति सुधार्न सिपमुलक आयआर्जनका कार्यक्रम ल्याउने चौधरीको अठोट छ ।अहिले समाजमा बृद्धबृद्धाहरुको समुचित स्याहार सुसार भईनरहेको अवस्थालाई मध्ये नजर गर्दै उहाँले गाउँघरमा बृद्धाश्रम निर्माण गर्ने, वृद्ध भत्ता, विधवा भत्ता लगायत अन्य सामाजिक सुरक्षाभत्तामा भारी वृद्धि गर्ने नेतृ चौधरीको सोच रहेको छ ।

नेतृ चौधरीले देशका ४० बढी जिल्लामा लघुवित्त कार्यक्रममार्फत महिलाहरूलाई आर्थिक, सामाजिक रूपमा सबल बनाउँदै आउनु भएकोले उहाँ नेतृत्वमा गएपछि समाज रूपान्तरण र विकासका लागि उहाँले केही गर्न सक्नुहुन्छ भन्ने विश्वास जनतामा रहेको छ । विगत २० वर्षदेखि सामाजिक, आर्थिक क्षेत्रमा उहाँले गरेको कामको मुल्याङकन गर्दै यस पटक यहाँका जनताले उहाँलाई जिताएर पठाउने देखिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *