सडक विस्तारपछि सुन्तलाले बजार पायो

मङ्सिर १७, म्याग्दी । विगतका वर्षमा सस्तो मूल्यमै सुन्तला बिक्री गर्दै आउनुभएका यहाँका किसानले सडक विस्तारपछि उचित मूल्य पाउन थालेका छन् । धौलागिरि गाउँपालिका– ७ ताकमका भेषनाथ गौतमले मङ्सिर पहिलो हप्ता धादिङका व्यापारीलाई सुन्तला ठेक्कामा दिए । उनले प्रतिकिलो रु ४२ का दरले सुन्तला बिक्री गरेका हुन ।

गौतमलाई जस्तै गाउँका अन्य किसानलाई यसपालि विगतको जस्तो सुन्तला बिक्रीका लागि माघसम्म डोके व्यापारी कुर्नुपर्ने चिन्ता छैन । “यसअघि सुन्तलाको बजार खोज्दै हिँड्नुपर्दथ्यो, यसपालि आँगनमै सडक आएपछि व्यापारी सुन्तला किन्न घरमै आए,” गौतमले भने ।

बेनी नगरपालिका– ४ बास्कुनाका कृषक तिलक गुरुङले १०० बोट सुन्तला नटिप्दै रु चार लाखमा बिक्री गरे । सोही ठाउँका नरबहादुर हुमेन, दलबहादुर कार्की र दुर्गाबहादुर खत्रीले सुन्तला बेचेर रु एकएक लाख बुझिसकेका छन् ।

“घरमै आएर व्यापारीले बगैँचा नै ठेक्कामा लिएर सुन्तला खरिद गरेर लगेपछि कहाँ र कसरी बेच्ने भन्ने चिन्ता नै रहेन”– कृषक दलबहादुर कार्कीले भने । कृषकलाई सडक सुविधा विस्तार भएपछि सुन्तला, आलुलगायत कृषिउपज बजारीकरणमा सहयोग मिलेको छ ।

केही वर्ष पहिलेसम्म स्थानीय बजारमा सीमित म्याग्दीको सुन्तला अहिले पोखरा, काठमाडौँ, नारायणघाटदेखि जनकपुरसम्म पुग्न थालेको छ । बेनी नगरपालिको राखु, मरेक, बास्कुना, मंगला गाउँपालिकाको बरंजा, भोर्लेनी, अर्मन, कुहुँ, मालीकाको बिम, ओखरबोट, रुन्मा, धौलागिरिको ताकम क्षेत्रका कृषकका बगैँचामा लटरम्म फलेका सुन्तला बोटबाटै बिक्री हुन थालेपछि कृषक उत्साहित भएका छन् ।

रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, अन्नपूर्णको दोवा, हिस्तान, घार, भुरुङ तातोपानी, नारच्याङ र दानाका कृषकले भने बेँसीजनमा केही ढिला गरी सुन्तला बेच्ने गरेका छन् । सडक सुविधा नहुँदा म्याग्दीका कृषकले उत्पादन गरेको सुन्तला स्थानीय बजारमा सीमित थियो । कृषकले उचित मूल्य पाउन सकेका थिएनन् । सुन्तला बिक्रीबाट जिल्लामा वार्षिक रु तीन करोडदेखि रु चार करोडसम्म भित्रने गरेको छ ।

छ सय ८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको म्याग्दीमा गत वर्ष दुई हजार ४७३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत भोजबहादुर थापाले बजार र मूल्य पाउन थालेपछि कृषक सुन्तला खेतीप्रति आकर्षित भएको बताए । उनका अनुसार कृषकले धान, कोदो, मकै, गहुँलगायत अन्नबालीको विकल्पमा सुन्तलाखेती गर्नेक्रम बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *