‘काँग्रेस कुटिएकोे ठाउँ बन्यो काँग्रेसमय !’


“
मङ्सिर १६,मोरङ । शनिश्चरे चौक, जुन ठाउँमा काँग्रेसको कार्यकर्ता भएको थाहा पाउने बित्तिकै कुनै समय चुटिनुइनु पर्थ्यो । तर, हिजो शुक्रवार त्यहीँ ठाउँबाट एमालेका दुई सयभन्दा बढी सक्रिय कार्यकर्ताहरू प्रतिनिधि सभाका उम्मेदवार डा. सुनिल शर्माको हातबाट अबिर र खादा लगाउँदै पार्टी प्रवेश गरे ।
हो, एक समय यस्तै भएको थियो, टोलमा कोही काँग्रेसी कार्यकर्ता भएको वा आएको सुइको पाउँनेबित्तिकै धाक धम्की दिएर मानसिक तनावमा दिने मात्र नभई भौतिक आक्रमण पनि घटेका अनेकै उदाहरण रहेको बताइन्छ । ०४८ सालदेखि एकछत्र राज गर्दै आएको एमालेले धाक धम्की दिँदै आफूहरुलाई गोरुजसरी बाँधेर हलचल गर्न नदिएको पार्टी प्रवेश गरेका केही कार्यकर्ताहरूले मुख खोले ।
साबिकको शनिश्चरे–५ हाल नगरपालिकामा रूपान्तरण भएपछि पथरी शनिश्चरे–९ भएको छ । सोही ठाउँमा शुक्रवार चुनावी कोणसभा कार्यक्रममा दशकै अघिदेखि पार्टीमा बसेर सक्रिय भूमिका निर्वाह गरेका गणेश वनेम (लिम्बू)को संयोजकत्वमा दुई सय भन्दा बढी एमाले कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गरेपछि शनिश्चरे चौकमा हल्लीखल्ली मच्चिन पुग्यो ।
पार्टी प्रवेश पश्चात् संयोजक वनेमले बाम गठबन्धन पछि एकता हुने प्रति रोस प्रकट गर्दै भने,‘बाम गठबन्धको नारा अहिले जसरी जपेर निर्वाचनमा एक भए पनि त्यो २१ गतेपछि देखि हालिन्छ । यो सबै सामू छर्लङ्ग छ ।’ स्थानीय सबै जना कम्युनिस्ट भएपछि आफू पनि त्यस्तै भइयो,’ उनले भने,‘पार्टीको सिद्धान्तभन्दा विपरीत काम गरेर जनताको आँखामा छारो हाल्ने कार्यकर्ता हरूको प्रवृत्ति देखे तर पनि बोल्न सक्ने स्थिति थिएन । तर, अब जनताको हक-हितका निम्ति बोल्नेछु ।’ देश जोगाउने एक मात्र पार्टी नेपाली काँग्रेस रहेको बताउँदै उनले आफू विभिन्न धाक धम्की बाबजुद पनि पार्टीमा बसेर काम गरेको बताए ।
आगामी मङ्सिर २१ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा दोस्रो चरणको निर्वाचनमा मोरङ् क्षेत्र नम्बर–३ को प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार डा. सुनिल कुमार शर्मा र प्रदेश सभा ‘क’का प्रत्यक्ष उम्मेदवार सुयर्मा राज राई पुगेपछि भिड लाग्यो । आफ्नो क्षेत्रको उम्मेदवार हेर्न केही समयदेखि पर्खि बसेका स्थानीय सर्वसाधारणहरुले दुवै उम्मेद्वारलाई ढपक्कै ढाके । सबैको ध्यान युवा उम्मेद्वारको अनुहारतिर सोझिएको थियो । ‘खिचिक्क..खिचिक्क’ स्मार्ट मोबाइलले फोटो खिच्न तल्लिन देखिन्थे ।
कार्यक्रममा बोल्दै उम्मेदवार डा. शर्माले यहाँको स्थानीयले ‘टुरिष्ट’ कि स्थानीय उम्मेदवार छान्ने त्यो आफूले बताइरहनु नपर्ने बताउँदै पाहुना उम्मेद्वारको २१ गतेसम्म राम्ररी खान-पिनसहित बासको व्यवस्था गर्न सुझाव दिए । ‘पाँच ÷पाँच वर्षसम्म संसद्मा बसेर तेह्रथुमको ओखरेमा पानीको धारा जडान गर्न नसक्ने हुतिहाराले यो क्षेत्रको विकास र उन्नति गर्न सक्छ । सक्दैन ।’ उनले भने,‘ठिकै छ, अब,भानुभक्त डुल्न आइहाले जाडोको समयमा लोकल कुखुरा काँटेर खुवाऔँ । उनी गाउँघरतिर पाइने तीनपाने भोड्का पनि राम्रै पिउँछन् । त्यसैले २१ गतेसम्म गाँस,बाँस र कपासको राम्रो व्यवस्था मिलाएर तेह्रथुम पठाऊ ।’
डा. शर्माले आफूले उम्मेदवार बन्नुपूर्व यस क्षेत्रका कयौँ ठाउँमा विकासका कामहरू गरेको पनि बताए । आफू उम्मेदवार बनेर आउँछु भन्ने मनसाय एकरत्ति पनि नभएको बताउँदै परिस्थितिले उम्मेदवार बन्न बाध्य बनाएको पनि बताए । ‘म राजनीतिमा होमिइन्छु भन्ने कहिल्यै सोचेको थिइन । तर, ०४८ सालदेखि यो क्षेत्रमा कम्युनिस्टले एकछत्र राज गरे पनि विकासका नाममा एक सिन्को भाँचेन । जनताको दुःख ज्यू का त्यु छन् । यसकारण म चुनावी मैदानमा उत्रिएको हु ।’ उनले फेरि थपे,‘ तर, उम्मेदवार दिएपछि कस्तो संयोग पर्यो भने बाम गठबन्धनबाट तेह्रथुमका पूर्व सांसद,काठमाडौँ–१४ निवासी तथा एमाले सचेतक भानुभक्त ढकाललाई यहाँको उम्मेदवार बनाइएछ । तर, मलाई उनीसँग चुनाव लड्न मज्जा आएको छैन । यसअघि यो क्षेत्रका लागि उम्मेद्वारमा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलको पनि चर्चा चलेको थियो । भानुभत्तका ठाउँमा उनीहरू यहाँ आएको भए चुनाव लड्न त्यतिखेर मज्जा आउँथ्यो ।’ डा. शर्माले आफूले जनतासामू उधारो बोली नबोलेर प्रत्यक्ष काम गरेर देखाएको ठोकुवा गरे ।
शुक्रवार पथरीशनिश्चरे, बेलबारीबाट साढे पाँच सयभन्दा बढी कार्यकर्ताहरूले काँग्रेस प्रवेश गरे । हाल पथरीशनिश्चरे नगरमा कूल ३८ हजार ७३ मतदाता रहेको छ ।
“
