शेरबहादुरसँग निहुँ खोजेको भए सरकार ढाल्न सक्थें : प्रचण्ड

मंसिर १६, भतरपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पाँच वर्षभित्र चितवनका सबै सड्क कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भरतपुर महानगरपालिका–१६ स्थित शरणपुरमा आयोजित चुनावी सभामा प्रचण्डले भने, ‘पाँच वर्षभित्र चितवनको एउटा पनि बाटो ग्राभेल नराख्ने संकल्प गरेको छु, त्यो गर्न सकिन्छ ।’

गोलाघाटको पुल बनेपछि नवलपुरसमेत जोडेर एकीकृत शहरको रुपमा चितवनलाई विकास गर्न सकिने उल्लेख गर्दै उनले भने, ‘राज्यले कसैलाई काखा–पाखा गर्नु हुँदैन भनेर धर्म निरपेक्षता घोषणा गरिएको छ ।’

विगत ७० वर्षदेखि स्थायी सरकार बन्न नसकेको इतिहास बदल्ने संकल्प गरेर बाम गठबन्धन निर्माण गरिएको बताउँदै प्रचण्डले भने, ‘भ्रष्ट, दलाल र कमिशनखोरीहरुको चिप्ला कुरा नसुनी जनताको पक्षमा लडेकाहरुलाई त्यो इतिहाँस बदल्ने अवसर दिनुहुनेछ भन्ने मलाई विश्वास छ ।’

बिहीबार बिहानैदेखि चुनावी अभियानमा लागेका प्रचण्डले बिहीबार आधा दर्जनभन्दा बढी कोणसभाहरुलाई संवोधन गरेका छन् । भतरपुर महानगरपालिका–१५ स्थित फुलबारीमा आयोजित सभामा कम्युनिष्ट नेतृत्वको सरकारले केही रेकर्ड बनाएको दाबी गरेका छन् ।

‘मनमोहन अधिकारीको पालाको वृद्धभत्ताको कुरा, केपी ओली नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा लिएको अडान र मेरो नेतृत्वमा लोडसेडिङ अन्त्य गर्दै आर्थिक वृद्धिदर बढाउँदै नयाँ रेकर्ड कायम गर्न हामी सफल भयौं ।’ मंसिर २१ गतेको निर्वाचन परिणाम पछि पाँच वर्षका लागि बामपन्थी सरकार बन्ने दावी गर्दै उनले भने, ‘त्यसपछि कम्युनिष्टले अरु पचास वर्ष शासन गर्ने अधिकार प्राप्त हुनेछ ।’

‘विपक्षीहरुले चुनावपछि कम्युनिष्ट मिल्दैनन् भनेर भ्रम फैलाउन खोजेका छन्, त्यसमा विल्कुल आशंका नराख्नूस’ प्रचण्डले भने, ‘वामपन्थी मिल्दैनन् कि भनेर आशंका पाल्नेहरु रुढीवादी सावित हुनेछन् ।’

राजनीतिक बेइमानी गर्न नचाहेर आफूले कांग्रेस सभापति देउवालाई अप्ठेरो नपारेको उल्लेख गर्दै माओवादी अध्यक्ष प्रचण्डले आफुले चाहेको भए अहिले कम्युनिष्ट सरकारले नै चुनाव गराउने वातावरण बनेको बताएका छन् । ‘त्यतिवेला संसद थियो, निहुँ खोजेको भए देउवाको सरकार ढाल्न सक्थेँ’ उनले भने, ‘कांग्रेस सभापति र मेरो बिचको समझदारीको सम्मान गर्दै उनलाई (शेरबहादुर देउवा) लाई निर्वाचन गराउन दिएको हो ।’

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =