सुर्खेतमा एचआइभी संक्रमणबाट नौ वर्षमा ५५ जनाको मृत्यु

मंसिर १६, सुर्खेत । सुर्खेत जिल्लामा विसं २०६५ यता ५५ एचआइभी संक्रमितको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी वसन्तमान श्रेष्ठका अनुसार २७४ एचआइभी संक्रमितले एआरटीको औषधि सेवन गरिरहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ३४ नयाँ संक्रमित थपिएका छन् । पश्चिम क्षेत्रमा बढी संक्रमित रहेको पाइएको छ । यस क्षेत्रबाट रोजगारीका सिलसिलामा भारत जाने र त्यहाँबाट फर्किंदा एचआइभी लिएर आउने गरेको श्रेष्ठले बताए ।

असुरक्षित यौनसम्पर्क, संक्रमित रगत, संक्रमित सुई सिरिन्ज तथा छाला छेड्ने औजार र संक्रमित आमाबाट बच्चामा सर्छ । खासगरी यौन व्यवसायी तथा लागुऔषध लिने व्यक्ति बढी जोखिममा छन् । नियमित उपचार र औषधि सेवन गरेमा यसबाट बच्न सकिने श्रेष्ठले बताए ।

लामो समयदेखि एचआइभी संक्रमितको क्षेत्रमा काम गर्दै आएको नवकिरण प्लसमा अहिलेसम्म ४११ संक्रमित सम्पर्कमा आएका छन् । संक्रमितमध्ये धेरैजसो महिला छन् । संस्थामा आएकामध्ये २२१ महिला र १९० पुरुष सम्पर्कमा आएको नवकिरणकाका कार्यक्रम संयोजक देवेन्द्र शर्माले बताए । त्यसैगरी ३१ बालबालिका छन् ।

सेभ द चिल्ड्रेन र ग्लोबल फण्डको आर्थिक सहयोगमा बालबालिकाका लागि नगद वितरण कार्यक्रम पनि सञ्चालन गरिएको छ । एचआइभी संक्रमित १८ वर्षमुनिका बालबालिकाका लागि शिक्षा, स्वास्थ्य र पोषणका लागि मासिक रु एक हजार दिँदै आएको शर्माले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *