भोट माग्दै दलहरु घरदैलोमा, पुराना कुरा उठाउँदै सर्वसाधारण

मङ्सिर १५, झापा । जब वर्षायाम लाग्छ, झापाको रतुवा खोला वरिपरिका बासिन्दाको निन्द्रा हराउँछ । यो विगत एक दुई वर्षअघि देखिएको समस्या भने होइन । लामो समयदेखि नै यस खोलाले उपद्रो मच्चाउँदै आएको छ । वर्षौंपिच्छे हजारौँलाई विस्थापित गर्ने यस खोलामा यहाँका बासिन्दा तटबन्ध बाँधिएको हेर्न चाहन्छन्, तर यो विषय केवल राजनीतिक नारा र नेताका भाषणमा सीमित हुँदा उनीहरू निराश छन् । सामान्य नेताको कुरै छाडौँ । प्रतिष्ठित नेताले पनि जनताको दुःखमा साथ नदिँदा उनीहरूलाई ठुलै चोट परेको कुरा चुनाव अघिको आक्रोशले स्पष्ट दर्शाउँछ ।

“दश वर्षअघि रतुवा खोलाको ‘पाता फर्काउँछु’ भन्ने एमाले नेता केपी शर्मा ओली प्रधानमन्त्रीसमेत भए तर आजसम्म यस खोलामा तटबन्ध बाँधिएको छैन । यो कस्तो विडम्बना हो गरिब जनतामाथि,” कमल गाउँपालिका सडक छेउमा पसल गर्ने ४६ वर्षीय अनिल रसाइली आक्रोश पोख्छन् । उनका अनुसार एमाले मात्र होइन सबै राजनीतिक दल र नेताको व्यवहारबाट जनता आकुल छन् । उनी थप्छन्, “चरम बेरोजगारीका कारण कतिपय युवा लागूपदार्थको दुव्यर्सनमा समेत फसेका छन् । नेताहरू जिल्लामा उद्योगधन्दा निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने कुरामा ध्यानै दिँदैनन्, केवल फोस्रा आश्वासन मात्र दिन्छन् ।”

उनको कुरामा हो मा हो मिलाउँदै सरस्वती गिरी भन्छिन्, “नेताहरूले साना कुरै गर्दै । देश विकासका गुड्डी हाँक्छन् तर चुनावपछि आफ्नो गाउँको विकास बिर्सन्छन् ।” गिरी राजनीतिक दलमात्र होइन पत्रकारले पनि गाउँका समस्या उजागर नगरी दिएकोमा गुनासो गर्छिन् । झापा जिल्लामा पूर्व पश्चिम राजमार्गको उत्तरतिरका गाउँमा थुप्रै समस्या छन् । खै कसले हेरिदिन्छ, सुनिदिन्छ र साना मान्छेका कुरा रु उनको पीरलो यस्तो छ ।

शिलान्यासलाई विकास भन्ने हो भने झापा धेरै विकसित

सोही गाउँपालिकाका चिया पसल सञ्चालक राजकुमार हलवाईका अनुसार शिलान्यासलाई विकास भन्ने हो भने झापा जति विकास अन्य कतै भएको छैन होला । वाम र लोकतान्त्रिक गठबन्धनका साना ठुला नेताले भोट तान्ने अनेक उपाय गरेको देख्दा र सुन्दा उनीहरू चकित छन् । चुनावको समयमा आफ्नो गाउँ तथा जिल्लालाई पानी पँधेरो बनाएका नेताले अन्य समय जनतालाई अँध्यारोमा राखेको अनुभूति हुन्छ मतदाताका भनाइमा । वाद, तन्त्र, सिद्धान्तका कुरामा चासो नराख्ने सामान्य ज्ञान भएका मतदातालाई सानो समस्याले गाँजिरहेका छन् । नेताहरूको मन माझिरहेका छन्, भाषणमा बाझिरहेका छन् ।

हात्ती धपाइदिने नेतालाई मात्र भोट

उता झापा चन्द्रगढी की वृद्धा वेदकुमारी घिमिरेले हात्ती धपाइदिने नेतालाई मात्र भोट दिने निर्णय गरेको सुनाइन् । “एकाबिहानै, बेलुकै आँगनमा हात्तीको लस्कर हिँड्छ । बिहान ६ बजे अघि तलाबाट झर्नै सकिन्न । कहिलेकाहीँ हारगुहार गर्दा प्रहरीले साइरन बजाएर हात्ती लखेटिदिन्छन् । तर नेता यस्ता समस्याबारे फिटिक्कै बोल्दैनन् । आजसम्म भोट माग्न कोही आएका पनि छैनन्” घिमिरेले दुखेसो पोखिन् ।

जथाभावी जग्गा प्लटिङले बस्ती डुबानमा

त्यसै गरी बिर्तामोडका रामजी दाहालले पनि आफ्नो क्षेत्रका विविध समस्या जानकारी गराए– ठुला नेताहरू नै अहिले रातदिन हिँड्ने सडकको बेहाल छ । उनीहरू केवल चुनावका बेलामात्र हिँड्छन् तर स्थानीयले वर्षभरि सास्ती खेप्नुपर्छ । उनको तर्क छ, जिल्ला होचो भूभागमा अवस्थित भएर मात्र होइन भूमाफियाले जथाभावी जग्गा प्लटिङ गर्दा बस्ती डुबानमा परेका छन् । हुन पनि बिरिङ, अदुवा, कन्काइमाइ, निन्दा खोलाको बाढीले वर्षौंपिच्छे हजारौँ विस्थापित हुन्छन्, सुकुम्वासी हुन्छन् यहाँ ।

नेपालमै कम्युनिस्ट आन्दोलन छेडेको पुरानो केन्द्रबिन्दु मानिने झापा जिल्लामा पछिल्लो केही दशकयता बौद्धिक युवा नेता विश्वप्रकाश शर्मा, शान्ति प्रक्रियाको समयका चर्चित नेता कृष्ण सिटौला, पूर्वप्रधानमन्त्री ओलीलगायत माओवादीको नेता राम कार्की, राप्रपाका राजेन्द्र लिङ्देनको चुनावी प्रतिस्पर्धा हेर्न लायक हुँदा जिल्लाका गरिब जनताका समस्या कसरी समाधान हुने हुन् त्यो भने देख्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =