भगवती चाैधरीकाे प्राथमिकताः युवा स्वरोजगार र आर्थिक संवृद्धि

देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहौल चर्किइरहँदा सुनसरी क्षेत्र नं. ३ पनि अछुतो छैन । सुनसरीका ४ ओटा क्षेत्रमध्ये आर्थिक, सामाजिक रूपमा पछि परेको क्षेत्र भनेको ३ नं. क्षेत्र हो । विकासका दृष्टिकोणले अन्यन्त सम्भावना बोकेको यो क्षेत्रमा विगत २६ वर्षदेखि विजयकुमार गच्छदारले नेतृत्व गरेको अवस्था छ । दोस्रो संविधानसभामा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएकी महिला नेतृ भगवती चौधरीले गच्छदारलाई कडा चुनौती दिनुभएको थियो । उक्त निर्वाचनमा (प्राविधिक कारण)ले गच्छदारसँग झिनो मतान्तरले पराजय ब्यहोर्नु भएकी चौधरी यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पुनः गच्छदारसँगै प्रतिस्पर्धा गर्नुहुँदैछ ।

स्थानीय स्तरमा छरिएर रहेका सानासाना पुँजीलाई एकत्रित गरी महिला मार्फत समुदायमा देशभर लघुवित्त कार्यक्रम सञ्चालन गर्नुभएकी चौधरीले महिला शशक्तिकरण, युवा स्वरोजगार, प्राविधिक शिक्षालय, आधुनिक कृषि योजना जस्ता विकासका एजेण्डा अघि सार्नुभएको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहनुभएकी चौधरीसँग प्रतिनिधिसभा निर्वाचनको तयारी, चुनावी एजेण्डा लगायतका विषयमा गरिएको कुराकानीः

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा यहाँको तयारी कस्तो भइरहेको छ ?

नयाँ संविधान कार्यान्वयनको चरणमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा दोस्रो चरणको निर्वाचनका लागि हामी अहिले घरदैलो अभियानमा छौँ । यस पटक देशभर केन्द्र तथा प्रदेश सभामा बाम गठबन्धनको बुहमतको सरकार गठन गर्ने माहौल बनेको छ । यही सन्दर्भमा सुनसरी क्षेत्र नं. ३ का जनता पनि यस पटक परिवर्तनको पक्षमा देखिएका छन् । यस पटकको निर्वाचनमा हाम्रो विजय सुनिश्चित देखिएको छ ।

सुनसरी क्षेत्र नं. ३ मा विगत २६ वर्षदेखि विजयकुमार गच्छदारले आधिपत्य जमाएको अवस्थामा तपाईँले जित्ने आधार कत्तिको छ ?

मैले भनी सकें यस पटक यहाँका जनता परिवर्तनका पक्षमा छन् । सुनसरीको ३ नं. क्षेत्र विकासका लागि सबै कुराले भरिपूर्ण भए पनि यहाँबाट २६ वर्षदेखि सत्तामा जाने नेतृत्वले यहाँको आर्थिक संवृद्धिका कुनै पनि योजना ल्याउन सकेन । गाउँको विकास कसरी गर्ने, यहाँका दलित, अल्पसंख्यक, आदिवासी जनजाति, मुस्लिम, किसानलाई राजनीतिक, आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा कसरी अगाडी ल्याउने विषयमा उनीहरूले कहिल्लै सोच्न सकेनन् । यहाँ विकासका सामान्य पूर्वाधार समेत नहुँदा जनताहरू प्राविधिक शिक्षा, स्वास्थ्य, सडक, आधुनिक कृषि योजनाबाट अहिलेपनि वञ्चित छन् । र, यही विकासका लागि यहाँका जनताले विगतमा एउटै व्यक्तिलाई पटकपटक जिताएर सत्तामा पुर्याएका पनि थिए । ती व्यक्तिले जनताले दिएको जनमतको कदर नगरेपछि यस पटक जनताले नयाँ नेतृत्वको चाहना गरेका हुन् । र, त्यही जनताको चाहना र अपेक्षा अनुरूप मैले बाम गठबन्धनबाट उम्मेदवारी दिएको हुँ ।

सुनसरी क्षेत्र नं. ३ का जनताले नयाँ नेतृत्व खोजेको भनिरहँदा तपाईँले जितेर गएको अवस्थामा मात्र यहाँको विकास हुन्छ भन्ने कसरी ग्यारेण्टी गर्नुहुन्छ ?

०४६ सालपछि जतिपनि सरकार बने कुनै पनि सरकार स्थिर भएन । राजनीतिक खिचातानीमा एउटा सरकारले ल्याएको राम्रो कार्यक्रम समेत अर्को सरकारले हटाउने कार्य भयो । यसले भ्रष्टाचार, कुशासन बढ्यो । र, विकासका बाधक भनेकै यिनै कुरा हुन्, नयाँ संविधान कार्यान्वयन भएपछि हामीले राजनीतिक अधिकार पाईसक्यौं । अबको आवश्यक्ता भनेको विकास र संवृद्धि मात्र हो भन्ने निक्र्यौल गरेर नेकपा एमाले र माओवादी केन्द्र बिच एकताको प्रयास थालिएको हो । यसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनलाई दुई तिहाई नभएपनि बहुमत अवश्य दिन्छ र, अब बन्ने बाम गठबन्धनको सरकारले ५ वर्षसम्म आफ्नो भिजन र उद्देश्य लागू गर्नसक्छ र, त्यसैले विकास र संवृद्धि ल्याउँछ भनेर नै बाम गठबन्धन गरिएको हो ।

जहाँसम्म मेरो ग्यारेण्टीको कुरा गर्दा यो क्षेत्रमा मैले विगत २० वर्षदेखि लघुवित्त कार्यक्रम मार्फत यहाँका जनतामाझ विभिन्न कार्यक्रम चलाएको छु, महिलाहरूलाई आर्थिक रूपमा बलियो नबनाएसम्म उनीहरूको विकास र मुक्ति सम्भव छैन भनेर मैले यो क्षेत्रका महिलाहरूलाई घरघरमा पुँजी पुर्याएको छु । मैले निजी क्षेत्रबाट यहाँको विकासमा जे जति काम गरेकी छु जनतालाई प्रस्ट छ । मैले जनताको घरदैलोमा जाँदै गर्दा म र मेरो पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धता पुरा गर्न प्रतिबद्ध छु ।

विशेषगरी यो क्षेत्रको विकासमा तपाईँले गर्नुभएको योगदानको चर्चा गर्दा के के छ ?

मैले आफैले आफूले गरेका कामको वर्णन गर्दा नसुहाउला । तथापि, यो चुनावी मैदानमा उत्रिएपछि केही भन्नै पर्दछ ।
मैले आफूले सक्ने विकासका काम यही जिल्लाको लागि गरेको छु । म यही जन्मेकोले यस क्षेत्रलाई आफ्नो मातृभूमि ठानेर आफूले सक्ने सबै थोक अर्पण गरेको छु । युवा स्वरोजगारका लागि काम गरेको छु । बिसौं वर्षदेखि महिला हिंसा भइरहेको थियो जसको प्रमुख कारण उनीहरूसँग आर्थिक अधिकार पनि थिएन । लघुवित्त कार्यक्रम मार्फत महिलाको हातहातमा पुँजी पुर्याएर यो क्षेत्रको गरिबी निवारणको अभियानका साथै उनिहरुमाथि हुने घरेलु हिंसा कम गर्नपनि लागेकी छु । सामाजिक सचेतना, महिला स्वास्थ्य र स्वरोजगारका कुरालाई प्राथमिकतामा राखेर काम गरेको छु । युवा स्वरोजगारका लागि काम गरेकी छु ।

तपाईँले महिला हिंसाको कुरा गरिरहँदा यस क्षेत्रका महिलाहरूको आर्थिक, सामाजिक अवस्था कस्तो छ ?

आजभन्दा विष वर्ष अघिकै कुरा गर्दा धेरै महिलाहरू घरेलु हिंसाबाट पीडित थिए, महिला साक्षरता थिएन । आर्थिक, सामाजिक क्षेत्रम घरबाट बाहिर निस्कन सक्दैनथे । सामाजिक, सांस्कृतिक कारणले समाजमा खुलेर कुरा गर्न सक्दैनथे । हामी सुनसरीका केही पढेलेखेका महिलाहरूले नै फरवार्ड नेपाल सामाजिक संस्था स्थापना गर्‍यौँ । यसले महिला शशक्तिकरण तथा महिला माथि हुने लैङिगक हिंसा र घरेलु हिंसाका विरुद्ध महिलालाई सशक्त बनाउन धेरै काम गर्‍यो ।

अहिले यहाँका महिलाहरू पुरुषसँगै आर्थिक क्षेत्रमा सक्रिय भएका छन् । हामीले लघुवित्त कार्यक्रम सञ्चालन गर्दैगर्दा सामाजिक, शैक्षिक कार्यक्रम पनि चलायौं । यसले महिला हिंसा न्ययूनिकरण गर्न र आर्थिक क्षेत्रमा उनीहरूको पहुँच स्थापित गर्न धेरै टेवा दियो । घरघरमा पुँजी गएपछि यहाँका २७ हजार बढी महिलामा सिप विकास भएको छ । गाउँघरमा एक जना नयाँ मान्छे देख्दा लुक्ने महिला अहिले समाजमा खुलेर कुरा गर्ने, आफ्नो क्षमता दक्षता अनुसारको व्यवसाय गर्नसक्ने भएका छन् । फरवार्ड नेपालमा देशभरबाट दुई लाख २५ हजार बढी महिला सङ्गठित छन् ।

वर्षाैदेखि सत्तामा रहेका विजयकुमार गच्छदारले समेत यहाँका लागि केही नगरेको अवस्थामा तपाईँले ५ वर्ष भित्रै सबथोक गर्नुहुन्छ भनेर जनताले कसरी विश्वास गर्ने ?

विजयकुमार गच्छदार जी २६ वर्षदेखि १८ पटकसम्म छानिछानी मन्त्री हुनु भयो । सधैँ सत्ता र शक्तिकै वरिपरि हुनुभयो । तर, जनताको प्रतिनिधि हुन सक्नु भएन । उहाँ मन्त्री हुँदा यस क्षेत्रमा एउटा प्राविधिक शिक्षालय स्थापना गर्न सक्नु हुन्थ्यो, बारम्बार यातायात मन्त्री हुँदा कालोपत्रे सडक बनाउन सक्नुहुन्थ्यो । बारम्बार भौतिक तथा योजना मन्त्री हुँदा आधुनिक कृषि, सिचाई र उद्योग करकारखानाका योजना ल्याउन सक्नुहुन्थ्यो । पर्यटन मन्त्री हुँदा यहिँकै बर्जु तालको संरक्षण र विकासका लागि काम गरेको भए, अहिले यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने आधार तय हुन्थ्यो । तर, उहाँले आफ्ना पार्टीका केही कार्यकर्तालाई ठेकेदार बनाउन एक दुइटा पुल र सडक बनाउने बाहेक कुनै काम गर्नुभएन । उहाँले यतिसम्म गर्नुभएको छ की, आफ्नै क्षेत्रमा आएको योजना समेत आफू मन्त्री हुँदा अन्यत्र सार्नु भयो । यो कुराले उहाँले जनताको लागि यो क्षेत्रको लागि राजनीति गरेको हैन भनेर प्रमाणित नै हुन्छ ।

मैले निजी क्षेत्रबाट लघुवित्त कार्यक्रम चलाइरहँदा मैले गरेको काम र उहाँ १८ पटक मन्त्री हुँदा उहाँले गरेको कामको मुल्याङन समेत गरौँ न कसले कति गरेछ भनेर । र, यो मुल्याङकन जनताले अब २१ गतेको निर्वाचनमा ब्यालेटबाट मलाई अत्याधिक मत दिएर गर्नुहुनेछ भन्नेमा म ढुक्क छु ।

मैले यस क्षेत्रका दाजुभाइ दिदी बहिनीहरूले कृषि क्षेत्रमा केही गर्न सक्नुहुन्छ भन्ने देखेको छु । यहाँका उखु किसानले समयमा पैसा नपाइरहँदा यसका लागि पहल गर्ने भगवती चौधरी नै हो । अहिले गच्छदार जी मा एक किसिमको दम्भ आएको छ त्यसलाई चिर्नुपनि अहिलेको आवश्यकत्ता भइसकेको छ । यो क्षेत्रको विकास र परिवर्तनका लागि राजनीतिक परिवर्तन आवश्यक छ ।

यो क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक जस्ता विकासमा आधारभूत कुरा पनि नहुनुमा जनता दोषी छन् कि नेतृत्व वर्ग ?

हामी २१ औँ शताब्दिमा आइरहँदा सुनसरी क्षेत्र नं. ३ का गाउँघरमा विकासका आधारभूत कुरा समेत नहुनुमा जनता दोषी हुने कुरा आउँदैन । यो दोष त २६ वर्षसम्म सत्तामा रहेर हामीमुहाली गर्ने नेतृत्वलाई नै जान्छ । भोट माग्ने बेलामा आफूलाई जनताको सेवक भन्ने सत्तामा पुगेपछि आफ्नै घर अघिल्तिरका जनतालाई विर्सने विजयकुमार गच्छदार जी जस्तो व्यक्तिलाई अबपनि हामीले सत्तामा पुर्यायौं भने हामी जनता दोषी हुन्छौं । तपाईँ यहाँका गाउँघर डुल्नुस्, यहाँका जनतासँग सोध्नुस् २६ वर्षमा उहाँले शिक्षा स्वास्थ्य, सडक, स्वच्छ खानेपानी र कृषि आधुनिकिकरणका लागि कति काम गर्नुभयो ।

गच्छदारले चाहेको भए नहुने केही थिएन । २६ वर्षको सत्तामा रहँदा उहाँले एउटा सुविधासम्पन्न स्वास्थ्य संस्था खोल्न सक्नुहुन्थ्यो । जनतालाई घरै अगाडी प्राविधिक शिक्षा दिन प्राविधिक शिक्षालय खोल्न उहाँलाई कसैले रोक्दैनथ्यो । आधुनिक कृषि प्रणाली अन्र्तगत व्यावसायिक कृषि परियोजना ल्याउन उहाँलाई २६ वर्षमा कुनै आइतबार पर्खनु पर्दैनथ्यो । खै केही गर्नुभएन ।

मैले आफ्नो संस्था मार्फत यो क्षेत्रमा अस्पतालका लागि योजना बनाएको छु । हाल स्विकृतिका लागि पहल भइरहेको छ । राज्यबाट आउन ढिलो भए पनि आफ्नो तर्फबाट बजारमा मात्र हैन यहाँको विकट दक्षिण भेगमा समेत अस्पताल स्थापना गराउने छु । म जितेर गएको खण्डमा राज्यको तर्फबाट सुविधा सम्पन्न अस्पताल निर्माण मेरो प्राथमिकतामा छ । युवा स्वरोजगार र प्राविधिक शिक्षालय गाँउमै सञ्चालनमा ल्याउने मेरो प्रमुख योजना रहेको छ ।

तपाईँले एक घर एक रोजगार भन्ने योजना उठाइरहँदा, यस क्षेत्रका युवाहरूका लागि कस्तो योजना ल्याउनु भएको छ ?

युवाहरूको योग्यताको आधारमा रोजगारीको अवसर गाउँमै प्रदान गर्ने मैले लक्ष्य लिएको छु । महिलाहरूको सिपका लागि गाउँमै रोजगारीको अवसर सृजना गर्ने योजना बनाएको छु । एउटा घरमा कम्तीमा एक जना रोजगार हुन पर्दछ यसले यहाँका बेरोजगार युवाहरूलाई आत्मनिर्भर बनाउन सहयोग गर्छ । र, युवाहरू विदेशीने बाध्यता पनि हट्छ भन्ने मेरो बुझाई हो ।

सुनसरीको यो क्षेत्र अन्य क्षेत्रभन्दा पछाडि परेको छ, यसलाई पकेट क्षेत्रका रूपमा विकास गर्न सकिन्छ कि सकिँदैन ?

अवश्य पनि सकिन्छ । गच्छदार जी सत्तामा रहँदा केही गर्नुभएन तर, म वनराज्य मन्त्री रहँदा ‘तराई बोर्डर हरियाली वन’ भन्ने योेजना ल्याएको थिए । त्यही योजनालाई समेत गच्छदार जी ले मन्त्री हुँदा खारेज गर्नुभयो । यो क्षेत्रलाई आधुनिक कृषि कार्यक्रम, व्यावसायिक कृषि प्रणालीका आधारमा पकेट जोन बनाएर गएको खण्डमा यहाँको विकास र आर्थिक संवृद्धिमा ठुलो सम्भावना छ ।

दुहवी क्षेत्रमा बढ्दो जनघनत्व र शहरीकरण व्यवस्थित गर्न तपाईँको के योजना छ ?

दुहवी इटहरीभन्दा पुरानो सहर हो तर, यहाँका जनप्रतिनिधीको बेवास्ताका कारण पछि परेको छ । यसलाई व्यवस्थित गर्न सके नमुना सहर बन्छ । दुहवीको शहरीकरण र विकासका लागि चक्रपथ सडक योजना बनाएको छु । व्यवस्थित पार्क एवम् संग्रहालय बनाउने योजना छ । यस क्षेत्रलाई हरियाली सहर एवम् सौर्य सिटीका रूपमा विकास गर्ने लक्ष्य छ ।

यहाँको धार्मिक, प्राकृतिक एवम् सांस्कृतिक विकासका लागि यहाँका एजेण्डा के के छन् ?

हामी कम्युनिस्ट हौँ तरपनि, हाम्रो सबै धर्म, संस्कृति र विचारमा समान भावना छ । यहाँ भएका विविध धर्म संस्कृतिको संरक्षण गर्ने, प्राकृतिक संपदा र क्षेत्रको विकास विस्तार गर्ने, पर्यटकीय क्षेत्रको पहिचान गरी गुरुयोजना तयार गर्ने एजेण्डा छ ।

अहिले प्रतिष्पर्धी पार्टीले नेकपा एमालेलाई मधेस विरोधी पार्टीको रूपमा आरोप लगाइरहँदा यहाँका जनताको प्रतिक्रिया कस्तो छ ?

नेकपा एमाले कहिल्लै पनि मधेस विरोधी पार्टी हैन । संविधान जारी गर्न नदिने खेल भइरहेको अवस्थामा मुलुक अन्धकार तर्फ नजाओस्, अन्तर्राष्ट्रिय क्षेत्रमा देश कालो सूचीमा नपरोस् भनेर संविधान जारी गर्न त्यत्तिबेला अडान लिएको हो । दोस्रो पटकपनि संविधान जारी नभएको भए नेपालको छवि पुरै बदनाम हुने थियो । त्यति बेला नेपाली काँग्रेसको सरकार थियो । काँग्रेस संविधान जारी नगर्ने पक्षमा हुँदा हामीले नै बल गरेर संविधान जारी भएको हो । त्यति बेला संविधान जारी नभएको भए अहिले देश सोमालियाको अवस्थामा जान्थ्यो । नेकपा एमाले नेपाल राष्ट्र, यहाँ रहने सबै वर्ग, क्षेत्र, समुदायको साझा पार्टी हो । यो कुनै एउटा सम्प्रदाय, धर्म, संस्कृति र भुगोलको मात्र हैन ।

हाम्रो पहिलो चाहना संविधान कार्यान्वयन गर्नु हो । माघ ७ गते भित्र चुनाव गराएर देशलाई सही दिशा तर्फ लाने हाम्रो चाहना हो । संविधानमा मधेसीलाई जति पहाडीयालाई अधिकार दिइएको छ त्यति अधिकार दिइएको छ । अहिले सबैलाई सबैधानिक आयोगको व्यवस्था गरिएको छ । समाजमा कस्तो प्रकारको परम्परा छ त्यो आयोग मार्फत संसद्मा पेस गर्ने अधिकार समेत दिइएको छ । एमालेलाई मधेस विरोधी भन्नुको अर्थ छैन ।

मधेसको हक हितका लागि पार्टीले चालेका कदमहरू के–के छन् ?

मधेसको हक हितका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले सम्मकै सबैभन्दा बढी बजेट मधेसकै लागि छुट्टयाउने काम भयो । एमालेले मधेसमा सडक निमार्ण र कृषिका लागि सबैभन्दा बढी बजेट पठाएको छ । जनकपुर, सिमरा र विराटनगर विमानस्थललाई व्यवस्थित बनाउन बजेट पठाएको छ । पहाडमा जसरी सडक सन्जाल जोड्ने योजना प्रस्तुत भयो त्यसरी नै स्मार्ट सिटी जोड्ने सडक निमार्णको प्रक्रिया अगाडी बढेको छ । विगतमा सत्तामा रहेका केही शासकले यो क्षेत्रमा वर्ग विभाजनको तुष फ्याक्ने काम गरे, जसले मधेसमा एमाले मधेस विरोधी हो भन्ने जनतामा गलत अफवाह फैलाएको जनताले प्रस्ट बुझिसकेका छन् ।

अन्तमा, चुनावी मैदानमा उत्रिइरहँदा यहाँका जनतालाई के भन्न चाहनुहुन्छ ?

सुनसरी क्षेत्र नं. ३ का जनता एक पटक मलाई यो क्षेत्रका लागि रोजिदिनुस् । अहिले यो क्षेत्रले परिवर्तन खोजिरहेछ । यस पटक पनि हामीले यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, लैङ्गिक विकासमा नेतृत्व परिवर्तन गर्न सकेनौं भने, यो क्षेत्र अझैपनि दशकौंसम्म पछि पर्छ । हामीले विगतमा जसलाई पटकपटक जिताएर पठायौं उसले गरेको विकास र संवृद्धि हेरिसकेका छौँ । अब परिवर्तन आवश्यक छ । मलाई पटकपटकका लागि हैन मात्र एक पटकका लागि विश्वास गर्नुहोस् । धन्यवाद !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *