“””कुमरोजको आकर्षण एकसिंगे गैँडा””

मङ्सिर १०,रत्ननगर, चितवन, ।  विश्वमै दुर्लभ एकसिंगे गैँडा हेर्न आउने पर्यटकहरुको आकर्षक गन्तव्य चितवनको (कुमरोज) बन्न थालेको छ । सामुदायिक वनमा नै गैँडाको राम्रो वासस्थान भएकाले यहाँ आएका पर्यटकहरु गैँडा देखेर रमाउने गरेका छन् ।

सामुदायिक वन घुम्दा गैँडा देखेरै फर्कने गरेकाले पनि यहाँ उनीहरू आकर्षित हुने गरेको बताउछन् , कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपाल । उनका अनुसार हिजो शनिवार झन्डै ३०० जना पर्यटकले कुमरोज वन घुमे ।

“बिदाको दिनमा धेरै नै बढी पर्यटक आउँछन्,  नेपालले भने – झन्डै ३०/४० वटा जिपमा पर्यटकहरु आएर गैँडा हेर्छन् ।’

चितवनको सौराहाबाट उत्तर पूर्व ५ किलोमिटर दूरीमा पर्छ कुमरोज । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत पर्ने सो ठाउँमा अहिले ५ देखि ७ वटा गैँडा छन् ।

बाघ, हात्ती, भालु, चित्तल, मयुरलगायत वन्यजन्तु र चराचुरुंगिको राम्रो बासस्थानका हिसाबले यो सामुदायिक वन महत्त्वपूर्ण मानिन्छ । अझै गैँडा हेर्न भनेर आउने पर्यटकको सङ्ख्या बढी छ । सौराहा आएका पर्यटकहरु यहाँ घुम्न पुग्छन् ।

पूर्वी चितवनको कुमरोजमा वन र दुर्लभ तथा संरक्षित वन्यजन्तुको संरक्षण हुन थालेपछि पर्यटक आकर्षित हुन थालेका हुन् । सो सामुदायिक वन ६९७ हेक्टरमा फैलिएको छ ।

एकसिंगे गैँडा र बाघको बासस्थान बढेपछि वन अवलोकनका लागि पर्यटक बढी आउन थालेको कुमरोज सामुदायिक वनका अध्यक्ष हिरा गुरुङले बताए । चितवन राष्ट्रिय निकुञ्जमा पहिलो पटक जिप सफारी सञ्चालन गरिएको छ ।

हात्ती सफारीको सुविधा समेत कुमरोजमा छ । रात बिताउनका लागि २ वटा मचान समेत भएकाले मचानमा बसेर पर्यटकहरुले गैँडा तथा वन्यजन्तुहरु अवलोकन गर्न पाउँछन् ।

अघिल्लो वर्षमा ५० हजार भन्दा बढी भन्दा पर्यटकले कुमरोज घुमेकामा अहिले बढ्ने अनुमान गरिएको वनका कार्यालय सचिव नेपालले जानकारी दिए । उहाँका अनुसार वनमा पर्या–पर्यटनबाट नै ७० देखि ८० लाखको आम्दानी हुन्छ । उक्त आम्दानी स्थानीयवासीको आयआर्जन, संरक्षण तथा विकासमा लगाइँदै आइएको छ ।

गएको वर्षदेखि यहाँ जिप सफारी समेत सुरु भएपछि पर्यटकको थप आकर्षण बढेको छ । यहाँ आउने पर्यटकलाई जिप सफारीमा नेपालीलाई रु ५०, सार्क देशका लागि रु १०० र बाह्य मुलुकका पर्यटकलाई रु २०० लिने गरिएको छ ।

यस्तै, जिप प्रवेश गरेबापत रु ५०० लिने गरिएको छ । जिपमा करिब १८ किलोमिटर जङ्गल घुमेर पर्यटकहरु रमाउँछन् । पर्यटन र संरक्षणमा स्थानीय समुदायको समेत हातेमालो भएकाले संरक्षण प्रभावकारी भएको र पर्यटक आकर्षित हुन थालेको बताउछन्,  समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका संयोजक ईश्वरी पाठक ।

पहिले गैँडाका लागि यहाँ कृत्रिम ताल बनाउनु परेकामा अहिले गैंडाहरु उक्त वनमा प्रशस्तै देखिन थालेको छ । पछिल्लो तथ्याँकमा चितवन निकुञ्जमा ६०५ गैँडा छन् । निकुञ्जका गैँडा घुम्दै सो क्षेत्रमा आइपुग्छन् ।

अहिले दैनिक सय भन्दा बढी विदेशी र स्वदेशी पर्यटकले कुमरोज वनमा पुगी जिप र हात्तीमा चढेर वन्यजन्तु समेत अवलोकन गर्दै आएका छन् ।

गाउँमा पनि पर्यटकको बसाइँ लम्ब्याउन यहाँ होमस्टे सञ्चालन समेत गरिएको नेपालले जानकारी दिए । स्थानीयवासी गोविन्द दराई अहिले यहाँ ५ वटा दराई तथा थारु होमस्टे खुलेको र अझै एकदर्जन बढी होमस्टे सञ्चालनको योजना रहेको बताउछन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *