बाम गठबन्धले जिते काठमाडौँ देखि पोखरा सम्म रेल गुडाउँछौं : नेता ओली

मङ्सिर ९, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै निर्वाचनमा बाम गठबन्धनलाई जिताए काठमाडौँ हुँदै पोखरा सम्म रेल गुडाएरै छोड्ने बताएका छन् । संयुक्त बाम गठबन्धनद्वारा पोखराको अमरसिंहचोक आयोजना गरिएको विशाल जनसभालाई सम्बोधन गर्दै ओलीले आगामी सरकार संयुक्त बाम गठबन्धनको हुने जिकिर गरेका हुन् ।

नेता ओलीले आफू प्रजातान्त्रिक आन्दोलनको क्रममा यही क्षेत्रमा गिरफ्तार भएर जेल बिताएको बताउँदै काँग्रेस पहिलेको जस्तो सच्चा देशभक्त र राष्ट्रवादी नरहेको बताए । उनले कास्कीका सबै क्षेत्रमा वाम गठबन्धन जित्नै पर्ने बताए । एमाले एक्लैले महानगर जितेको स्मरण गर्दै ओलीले भने, ‘अहिले एमाले र माओवादी मिलेपछि जिल्लाका नौ वटै सिट नै जित्नेमा कुनै शङ्का छैन, हामीले कास्कीबाट नौ का नौ सिट जित्नै पर्छ’ ओलीले भने ।

नेता ओलीले आफू प्रधानमन्त्री हुँदा नेपाल भारत बिचको बिग्रीएको सम्बन्धलाई सुमधुर बनाएको समेत दाबी गरे । पोखरा विश्वमा सुन्दरताको हिसाबले चर्चित रहेको बताउँदै अब पोखरालाई तरकारीको लागि समेत देशको मुख्य केन्द्र बनाउने बताए । नेता ओलीले मित्रराष्ट्र चीन तर्फका विभिन्न नाकाहरु जोड्ने र स्तरउन्नतीको काम तीव्र गतिमा आगाडि बढेको बताउँदै अब नेपालमा नाकाबन्दी सम्भव नहुने बताए । हजारौँ सहभागी जनसभामा अध्यक्ष ओली सहित माओवादीका नेता रामबहादुर थापा ‘बादल’ सहित अन्य स्थानीय नेताहारुले सम्बोधन गरेका थिए ।

बाम गठबन्धनद्धारा आयोजित चुनावी सभालाई एमालेका केपि शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भन्दै प्रचारप्रसार गरिएपनि अन्तिममा नेता ओलीमात्र पोखरा आएका थिए । विशेष कारण बस प्रचण्ड उपस्थित हुन नसकेको सभामा बताइएको थियो । बाम गठबन्धनको चुनावी कार्यक्रमलाई लक्षितगरी पोखरामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो । पोखरा विमानस्थल देखि सभास्थल अमरसिंहचोक सम्म दायाँ बायाँको चोक चोक र ५० मिटरको दुरिमा प्रहरी परिचालन गरिएको थियो। चार वटा सुरक्षा निकायको समन्वयमा सुरक्षाकर्मी व्यवस्था कडापारिएको थियो ।

सभामा विभिन्न पार्टीबाट ठुलो सङ्ख्यामा एमाले र माओवादीमा प्रवेश गरेका नेता कार्यकर्ताहरूलाई नेता ओलीले खादा र अबिर लगाएर पार्टीमा भित्राएका थिए । कार्यक्रममा पोखराको पुरानो क्याप्पसका पूर्व क्याम्पस प्रमुख प्रध्यापक दिलबहादुर पौडेल क्षत्री लगायत पार्टी प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *