अमेरिकामा कार्कीले बनाए कृतिमान

“
अमेरिका । नेपालीहरूको शान बढाउँदै नेपाली मूलका प्रथम भारत्तोलक रूप कार्कीले अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगिताको प्रतिस्पर्धामा स्वर्ण पदक प्राप्त गरेका छन् ।नेपालको रुपन्देही स्थायी घर भई हाल अमेरिकाको डिसी क्षेत्रमा डेढ दशक देखि बस्दै आएका कार्कीले नोभेम्बर १८ तारिखमा भएकाे प्रतियोगितामा भाग लिन एटलान्टा पुगेका थिए ।
उनले आफ्नो तौल समूहमा प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । कुल १४ सय पाउण्ड उठाई उनले स्वर्ण पदक प्राप्त गरेका हुन् । उनी २ सय २० पाउण्डको ताैलबाट प्रतियोगितामा सहभागी भएका थिए । नोभेम्बर १८ र १९ तारिखमा जर्जीयाको एटलान्टामा अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा उनले उक्त पदक जितेका हुन् ।
उनलाई गत नोभेम्बर १६ तारिखका दिन डिसी महानगर क्षेत्र वरपर बस्ने नेपाली समुदायले आमन्त्रण गरी शुभकामना दिएका थिए । छोटो समयमा गरिएको शुभकामना तथा बधाई कार्यक्रममा उनले आफूले नेपालको नाम राख्न सक्दो प्रयास गरेको बताएका थिए । उनले डिसीमा आफ्नो कुरा राख्दै कम्तीमा पनि १३ सय पाउण्ड उठाउनु पर्नेमा आफूले त्यो भन्दा बढी उठाएकाले सहभागी हुन् पाएको बताएका थिए । उनले डिसीमा १४ सय पाउण्ड उचालेका थिए ।
विमानस्थल अवतरण गर्ने बित्तिकै सम्पूर्ण नेपालीहरूको आशीर्वाद लिएर आएको बताउँदै उनले नेपाललाई विश्वमा चिनाउने आफूले प्रयास गर्ने बताएका थिए । उनी शरीर बनाउन कुनै औषधीको सेवन नगरेका (ड्रग टेस्टेड)समूहमा प्रतियोगितामा भाग लिएका भारत्तोलक खेलाडी हुन् । नेपाली समुदायमा अमेरिकाको अहिलेसम्मको इतिहासमा नेपाली मूलका भारत्तोलक रूप कार्की एक मात्र खेलाडी हुन् ।
याे भारत्तोलनको उच्चस्तरिय प्रतिस्पर्धा मध्यको एक हो । विश्वभरका अधिक वजन (हेभिवेट) भारत्तोलकहरु प्रतिस्पर्धी रहने सो प्रतियोगितामा छनोट हुने कार्की पहिलो नेपाली मूलका अमेरिकन हुन् । कार्कीले विभिन्न स्थानीय तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागिता पनि जनाइ स्वर्ण पदक हासिल गरी सकेका छन् ।
निक्कै कडा मेहनती कार्कीले जीवनमा कहिल्यै हरेस खानु परेको छैन । आत्मविश्वासका साथ खेल्न उत्रने कार्कीको खेल शैलीले सबैलाई मोहित बनाउँने गरेका छन् । नियमित र निरन्तर अभ्यासले सफलता दिलाएको भन्दै कार्कीले भारोत्तलन लगायत सबै खेलको विकासमा नेपाली मूलका नेपाली अग्रसर हुनुपर्नेमा जोड दिए ।
“








