स्याङ्जामा काँग्रेस र बामगठबन्धन बिच रोचक भीडन्त
“
मङ्सिर ५, पोखरा । नेपालकै शैक्षिक तथा प्रशासनिक क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल प्रदेश नम्बर ४ अन्तर्गतको स्याङजामा चुनावी सगर्मी तीव्र बनेको छ ।
देशको प्रशासनिक निकायका उच्च स्थानहरुमा आसिन प्रशासकहरु र काँग्रेसको केन्द्रीय उपसभापति एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको गृह जिल्लाको रूपमा सधैँ चर्चामा रहने स्याङजा चुनावको मिति नजिकीएसँगै चुनावी सरगर्मी बढेको छ । दुवै गठबन्धनका उमेदवारबीच विरासत जोगाउने र भत्काउने मौकाको रूपमा यस चुनावलार्इ लिएको छ ।
प्रतिनिधि सभा निर्वाचनको लागि दुई वटा क्षेत्र रहेको स्याङजामा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र निवर्तमान सांसद राजु थापा चुनावी मैदानमा उत्रिएका छन् ।
क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका निवर्तमान सांसद राजु थापा र वाम गठबन्धनको तर्फबाट नारायण मरासिनीलाई चुनवी मैदानमा उत्रिएका छन् । क्षेत्र नम्बर २ बाट लगातार ४ पटक सांसद बनेका काँग्रेसका केन्द्रय उपसभापति एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र वाम गठबन्धनका तर्फबाट पूर्वसांसद एवं एमालेकी नेतृ पद्यमा आर्यालबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
काँग्रेसका हेवीवेट उमेदवारमा हेरिएको गोपालमान श्रेष्ठलाई महिला नेतृ अर्यालले कडा टक्कर दिएकी छन् । जिल्लाबाट ४ पटक सांसद बनेर मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म हुँदासमेत जिल्लाको विकास निर्माणमा उल्लेख्य काम गर्न नसकेको आरोप उनीमाथि लाग्ने गरेको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ जिल्लामा काँग्रेसका शक्तिशाली उम्मेदवार मानिन्छन । उनी आफू क्षेत्र नम्बर एकका बासिन्दा भए पनि सधैँ काँग्रेसको गढ मानिने क्षेत्र नम्बर दुर्इबाट उम्मेदवार बन्दै आएका छन् । उनको घर र मतदान गर्ने स्थान क्षेत्र नम्बर १ मा पर्छ । क्षेत्र नम्बर १ मा तीन वटा संसदीय चुनाव एमालेले जितेको छ भने गत संविधान सभा निर्वाचनमा काँग्रेसका सांसद राजु थापा विजयी भएका थिए । जिल्लाको क्षेत्र नम्बर दुईमा सधैँ काँग्रेसका एक्ला उम्मेदवार श्रेष्ठका पार्टी नेता कार्यकर्तासमेत सन्तुष्ट देखिँदैन ।
०४८ मा कायम रहेका ४ वटै निर्वाचन क्षेत्रबाट पार्टीलाई एकछत्र चुनाव जिताएर आफ्नो रबाफलाई केन्द्रसम्म फैलाएका श्रेष्ठले लगातार चौथो पटकसम्म सांसद बन्ने राजनैतिक बिरासतलाई कायम राख्न एमाले नेतृ अर्यालसँग कडा प्रतिस्पर्धा गर्नु पर्ने देखिन्छ ।
स्थानीय निर्वाचनको मतको परिणालाई आधार मान्ने हो भने श्रेष्ठले आफ्नो बिरासत जोगाउन कडा मिहिनेत गर्नु पर्ने देखिन्छ । नेतृ अर्याल स्थानीय स्तरमै रहेर निरन्तर राजनीतिमा सक्रिय रहदै आएकी छन् । उनी वाम गठबन्धनकी लोकप्रिय उम्मेदवार हुन् ।
त्यसै गरी स्याङ्जा क्षेत्र नम्बर १ प्रतिनिधि सभाको लागि काँग्रेसको तर्फबाट निवर्तमान सांसद राजु थापा र एमालेबाट नारायण मरासिनी चुनावी मैदानमा उत्रिएका छन् । उनीहरू दुवै गत संविधान सभाको निर्वाचनमा चुनाव लडेका थिए । मारासिनीलाई थापाले झिनो मतले पराजित गरेका थिए । तर, त्यति बेला माओवादी केन्द्रका लोकप्रिय युवानेता शैलेन्द्र घिमिरे पनि चुनावी मैदानमा थिए । उनले करिब ८ हजार मत ल्याएका थिए ।
क्षेत्र नम्बर १ का उमेदवार राजु थापा ठेक्कापट्टा र निर्माण व्यवसाय हुँदै राजनीतिमा आएका हुन भने मरासिनी स्कुल सञ्चालक हुन् । मरासिनी बौद्धिक र क्षमतावान नेतामा चिनिन्छन् । क्षेत्र नम्बर १ मा पनि स्थानीय निकाय र वाम गठबन्धनको मत अन्तर ठुलो छ । समग्र जिल्लामा स्थानीय तहका वडा अध्यक्षले प्राप्त गरेको मतको तुलना गर्दा एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धन अगाडि देखिएको छ । लोकतन्त्रवादी मतदाताको हाबी रहेको दाबी गरिएको स्याङ्जामा स्थानीय निकायको मत परिणमलाई हेर्दा वाम गठबन्धन र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मत परिणाम हेर्दा काँग्रेसको २५ हजार ५ सय ३६ मत रहेको छ । त्यसै गरी एमालेले ३१ हजार ७ सय १५ मतमा माओवादीले प्राप्त गरेको ४ हजार ६६ मत जोड्दा काँग्रेसभन्दा ९ हजार २ सय ४५ मत अगाडि देखिन्छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा स्थानीय तहमा काँग्रेसले २८ हजार ४ सय ९ मत प्राप्त गरेको थियो । त्यसै गरी एमालेले २८ हजार ३ सय ३६ मत र माओवादीले प्राप्त गरेको ४ हजार १८ मत हेर्दा वाम गठबन्धन ३ हजार ९ सय ४५ मतले अगाडि रहेको छ ।
जिल्लामा चुनावी सरगर्मी र जोड्घटाउ चलिरहेको बेला स्याङ्जा काँग्रेसका महासमिति सदस्य दीपक लम्साल नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । ३० वर्ष नेपाली काँग्रेसको राजनीतिमा सक्रिय लम्सालले पार्टीले एक पक्षलाई मात्र टिकट वितरण गरेको आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन् ।
लम्साल स्थानीय तहको निर्वाचनमा पनि छवि विग्रेका भ्रष्टचरित्र भएका अलोकप्रिय उम्मेदवारका कारण काँग्रेसले पराजय भोग्नु परेको आरोप लगाएका छन् । त्यसै गरी नेपाली काँग्रेस पुतलीबजार नगर प्रमुख बेदप्रसाद दोरङ्गाले पनि राजनीतिबाट सन्यास लिने भन्दै राजीनामा दिएका छन् ।
“