म्याग्दीमा नक्कली नोटको बिगबिगी
“
मङ्सिर ५, काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचन अन्तर्गत पहिलो चरणको चुनाव आउन केही दिन मात्र बाँकी रहँदा म्याग्दीमा नक्कली नोटको बिगबिगी भएको छ । चुनावको समय नजिकिँदै गर्दा बजार क्षेत्रमा नक्कली नोट पाइएको हो ।
म्याग्दीस्थित विभिन्न बैङ्क एवं वित्तीय संघसंस्था, विद्यालय, सहकारी र किराना पसलमा नक्कली नोट भेटिँदा सर्वसाधारण समस्यामा परेका छन् । गएको शुक्रवार सदरमुकामस्थित लोकदिप बचत तथा ऋण सहकारी संस्थामा (च २५) ४३६१३३ नम्बरको एक हजार रुपैयाँको नक्कली नोट भेटिएको थियो । आइतबार बेनीको दिदीबहिनी सहकारी र सोमबार गरिमा विकास बैङ्क, प्रकाश मावि र बेनीको एक किराना पसलमा उस्तै प्रकृतिको एक हजार रुपैयाँ दरको नक्कली नोट भेटिएको हाे ।
यसअघि गएको वैशाखमा सम्पन्न स्थानीय तहको चुनावको समयमा पनि बेनी अस्पतालको फार्मेसी र दिदीबहिनी सहकारीमा पाँचसय रुपैयाँको नक्कली नोट भेटिएको थियो । बजारमा नक्कली नोट भेटिन थालेपछि सर्वसाधारणलाई आर्थिक कारोबार गर्न समस्या भइरहेको छ भने त्राससमेत फैलिएको छ ।
म्याग्दीमा बेलाबेलामा नक्कली नोटसम्बन्धी घटना दोहोरिने गरेको हुँदा सर्वसाधारण सधैँ सचेत रहनुपर्ने गरिमा विकास बैङ्क बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले बताए । उनले नोटलाई राम्ररी हेर्न हो भने नक्कलीमा लालीगुरासँको तस्बिर, नेपाल राष्ट्र बैङ्कको छोटकरी रूप एनआरबी देखिँदैन भने कतिपय अवस्थामा नोट छामेर पनि पहिचान गर्न सकिन्छ ।
बजारमा नक्कली नोट भेटियो भन्ने हल्ला आइरहे पनि प्रहरीमा नक्कली नोटबारे एउटा मात्रै उजुरी परेको म्याग्दीका प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले बताए । नक्कली नोट भेटिएकोबारे प्रहरी कार्यालयमा आधिकारिक रूपमा निवेदन र नक्कली नोट नआउँदा अनुसन्धानमा समस्या भएको बताउँदै उनले नक्कली नोटबारे जानकारी गराएर प्रहरीको अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । नक्कली नोटका सम्बन्धमा प्रहरीमार्फत अनुसन्धान अगाडि बढाइएको उनको भनाई छ ।
नेकपा एमालेनिकट युवा सङ्घ र माओवादी केन्द्रनिकट वाईसीएलले सोमबार पत्रकार भेटघाट गरी नक्कली नोटको बिगबिगीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । वाईसीएलका जिल्ला अध्यक्ष कुमार थापाले चुनावमा सिधासाधा जनतालाई प्रभावमा पार्नेहरुले नक्कली नोटको प्रयोग गरेको हुनसक्ने भन्दै सचेत हुन आग्रह समेत गरे । चुनाव नजिकिँदै गर्दा नक्कली नोट भेटिन थालेपछि यसलाई निकै चासोका साथ हेरिएको छ ।
“