महिला विश्वकप टी-२० छनोट: नेपाल हङकङसँग बराबरीमा राेकियाे

मङ्सिर ५, काठमाडाैं । आइसिसी महिला विश्वकप टी–२० एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपाल लगातार दोस्रो खेलमा अङ्क बाँड्न बाध्य भएको छ । थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा नेपाल र हङकङबीच तय भएको खेल चिसो मैदानका कारण रद्द भएपछि दुवै टिमलाई समान १–१ अङ्क दिइएकाे हाे । यो मैदानमा युएई र थाइल्यान्डबीच दिउँसो खेल हुने भएकाले नेपाल र हङकङबीचको खेल हुने सम्भव नभएको हो ।

लगातार दुई खेलमा अङ्क बाँडेको नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपालको २ अङ्क भएको छ भने शीर्ष स्थानको हङकङको ३ अङ्क छ । यसअघि सोमबार भएको खेलमा पनि नेपाल र आयोजक थाइल्यान्डले अङ्क बाँडेका थिए । थाइल्यान्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा विनाविकेटको क्षतिमा १० रन जोड्दा खेल वर्षाले अवरुद्ध भएको थियो ।

छनोटमा नेपालसहित चीन, हङकङ थाइल्यान्ड, मलेसिया र युएईले प्रतिस्पर्धा गरिरहेका छन् । राउन्ड रोविन लिगमा हुने लिगको शीर्ष २ टिम नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिनेछन् । छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । ६ टिम भने छनोट भइसकेका छन् । जसमा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *