साख फर्काउने कसरतमा काँग्रेस, वाम गठबन्धनलाई निरन्तरताको चुनौती

कार्तिक ३०, दार्चुला । संविधानसभाको निर्वाचनमा दुर्इ पटक हार व्यहोरेको नेपाली काँग्रेस दार्चुला आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टीका पूर्व प्रवक्ता दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा विगतको तुलनामा सङ्गठन सुधार र पार्टीको आन्तरिक व्यवस्थापन राम्रो भए पनि नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले तालमेल गरी चुनावी मैदानमा होमिनु काँग्रेसका लागि चुनौती बनेको छ ।

दार्चुलामा काँग्रेस दुईपटकको हारको साख फर्काउन चुनावी सभालाई विगत दुई महिनायता व्यापक बनाउँदै लगेको छ । वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार गणेशसिंह ठगुन्नालाई जितलाई निरतन्तरता दिन सहज भने छैन ।

वाम गठबन्धन भए पनि केही महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसले दार्चुलामा आफ्नो पकड बलियो बनाएको छ । वि सं २०७० मा झिनो मत अन्तरले काँग्रेस नेता बडूलाई निर्वाचनमा पराजित गरेका ठगुन्नाले जिल्लाको विकासका लागि काम गर्न नसकेको मतदाताको आरोप छ । काँग्रेस नेता बडूले राष्ट्रिय राजनीतिमा बनाएको छविका कारण दार्चुलामा विकास निर्माणका योजनाहरू आएको भन्दै यहाँका मतदाता प्रतिनिधि छनोटमा विवेकपूर्ण निर्णय लिनेमा काँग्रेसजनहरु आशावादी छन् ।

प्रतिनिधिसभामा काँग्रेसबाट पुराना नेता विक्रमसिंह धामी र वाम गठबन्धनबाट ठगुन्नाले चुनावी सभालाई यहाँका ग्रामीण बस्तीसम्म पु¥याएका छन् । सुरुवातमा काँग्रेसबाट नेता बडू प्रतिनिधिसभाको चुनाव लड्ने चर्चा रहे पनि पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएपछि अर्का नेता धामीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएर जिल्ला पठाएको हो । उनी तीन दशकको राजनीतिमा पहिलो पटक उम्मेदवार बनेका हुन् । वाम गठबन्धनले काँग्रेस नेता बडूलाई यस पटक बलियो उम्मेदवारका रूपमा हेरे पनि अन्तिममा धामी मैदानमा देखिएपछि केही सहज महसुस गरेको छ ।

काँग्रेस केन्द्रीय सदस्य बडू वाम गठबन्धनभित्र व्यापक असन्तुष्टि देखिएकाले काँग्रेसलाई निर्वाचन जित्न सहज हुने बताउँछन् । “हाम्रो पार्टीभित्र पक्ष, विपक्ष नभई एकताबद्ध भएर लागेका छौँ,” नेता बडूले भने, “पार्टीभित्रको एकताकै कारण स्थानीय तहमा जिल्लामा काँग्रेसले बहुमत ल्याएको हो ।”

आफू समानुपातिक उम्मेदवार बनेर दोस्रो तहका नेतालाई व्यवस्थापन गरी चुनावी मैदानमा उत्रेको उनको भनाइ छ । पार्टीभित्रको एकता, स्थानीय तहको बहुमत र वाम गठबन्धनभित्रको द्वन्द्वका कारण निर्वाचनको नतिजा काँग्रेसको पक्षमा आउने नेता बडूले बताए । दार्चुलामा २०४८ र २०५६ मा काँग्रेस, २०५१ र २०७० सालमा एमाले तथा २०६४ मा माओवादी केन्द्रले चुनाव जितेकाे थियो ।

वाम गठबन्धनका उम्मेदवार ठगुन्ना २०७० को निर्वाचन जिते पनि विकास निर्माण लगायतका जन आवश्यताका बारेमा केही पहल गर्न नसकेको आरोप लागेको छ । तर, वाम गठबन्धन पुनः निर्वाचनको परिणाम आफ्नो पक्षमा आउनेमा ढुक्क छ ।

काँग्रेस उम्मेदवार धामीले लोकतन्त्रको रक्षा र समग्र दार्चुलाको विकासका लागि काँग्रेस एक्लै भए पनि चुनावी मैदानमा आएको बताउँछन् । “यस अघिका निर्वाचित प्रतिनिधिले जिल्लाको विकासका लागि के गरे ? जनताले राम्ररी बुझिसकेका छन्,” उनले भने, “यस पटक मतदाता काँग्रेसलाई जिताउन आतुर छन् ।” उनले जिल्लाको सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, नदी नियन्त्रणका लागि तटबन्ध निर्माणलगायत विकास निर्माणका काम काँग्रेसकै पहलमा भएको बताए ।

“जितेर गएपछि जिल्लाका लागि सिन्को समेत भाँच्न नसकेकाहरु पुनः जित्ने सपना देखिरहेका छन्”, धामीले भने, “लामो समयदेखि मतदाता काँग्रेसको जितको पर्खाइमा छन् ।” धामीले जतिसुकै गठबन्धन बने पनि काँग्रेसलाई निर्वाचन जित्न कठिन नहुने दाबी गरे ।

वाम गठबन्धनका उम्मेदवार ठगुन्ना आफूले नै चुनाव जित्ने बताउँछन् । “वाम गठबन्धन कसैप्रति लक्षित छैन, यो देशको राष्ट्रिय आवश्यकता हो, वाम गठबन्धनबाट हामी चुनाव जित्छौँ”, ठगुन्नाले भने, “संविधान निर्माणको जिम्मा दिएका दार्चुलाका जनताले संविधान कार्यान्वयनको भूमिकामा पनि साथ दिनेछन् ।”

जिल्लाको विकास र जनताका समस्या समाधानका लागि थालनी गरेका कामको निरन्तरताका लागि आफूले उम्मेदवारी दिएको ठगुन्नाको भनाइ छ । दुवै उम्मेदवारले महाकाली करिडोरलाई तिंकर नाकासँग जोडेर जिल्लालाई त्रिदेशीय व्यापारिक नाकाका रूपमा विकास गर्ने मुख्य मुद्दा बनाइरहेका छन् । जिल्लाका उत्तरी तीन गाउँपालिकामा सडक पुगेको छैन । उम्मेदवारहरु सडक सञ्जाल विस्तार गर्नेदेखि रोजगारीका अवसर प्रदान गर्ने आश्वासन मतदातालाई दिइरहेका छन् ।

“दुईपटक माओवादी र एक पटक एमालेले चुनाव जिते पनि यहाँ काँग्रेसकै पहलमा विकास भएकाले जनमत काँग्रेसको पक्षमा छ,” काँग्रेस जिल्ला सचिव हरकसिंह विष्टले भने ।

वाम गठबन्धनले संयुक्त घोषणापत्र तयार गरी साझा प्रतिबद्धता जनतामाझ प्रस्तुत गर्दै जिल्लामा पर्यटन पूर्वाधार विकासमा जोड दिएको छ । प्रतिनिधिसभामा काँग्रेसका धामी, वाम गठबन्धनका ठगुन्ना, राष्ट्रिय जनमोर्चाका मनवीर दमार्इं, जनसमाजवादी पार्टी नेपालका धनबहादुर कुँवर र नयाँ शक्तिका जितेन्द्र महरा चुनावी दौडमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने काँग्रेस उम्मेदवारलाई सघाउने भएका छन् । पार्टीले टिकट वितरणमा मिलाएको सन्तुलनले समेत प्रदेशसभाका दुईवटै उम्मेदवारलाई फाइदा पुग्ने देखिन्छ ।

काँग्रेसबाट प्रदेशसभा ‘क’ मा मदन गिरी र ‘ख’ मा जगदीश पाल उम्मेदवार छन् । भने, वाम गठबन्धनबाट प्रदेशसभा ‘क’ मा एमालेका गेल्बुसिंह बोहरा र ‘ख’ मा माओवादीका मानबहादुर धामी उम्मेदवार रहेका छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा ७८ हजार ५१३ मतदाता रहेका छन् ।

छांगरु र तिंकरवासीले सदरमुकाममै मतदान गर्ने

दार्चुलाको व्यास गाउँपालिका–१ छांगरु र तिंकरका मतदाताले जिल्ला सदरमुकाम खलंगामै मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले उनीहरूका लागि जिल्ला सदरमुकाममै निर्वाचन केन्द्र कायम गर्न सकिने भन्दै निर्णय गरेपछि सौका समुदायलाई मतदान गर्न सहज हुने भएको हो ।

निर्वाचन आयोगले उक्त मतदान केन्द्रका सबै मतदाता खलंगा आएर मतदान गर्न सक्ने अवस्था भएको खण्डमा सदरमुकाममै उनीहरूका लागि मतदान गर्न व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।

“आयोगबाट पत्र प्राप्त भएको छ, व्याँसवासीको मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले बाटो खुल्ला गरेको छ,” उनले भने ।” उहाँले छिट्टै दलीय बैठकमार्फत आयोगको पत्रबारे जानकारी गराउने तथा निर्णय कार्यान्वय गरिने बताए ।

सदरमुकाम खलंगाबाट करिब ९० किलोमिटर उत्तरमा रहेको व्याँस गाउँपालिका–१ मा रहेका दुईवटै मतदान केन्द्र खलंगा सार्नका लागि निर्वाचन आयोगलाई यसअघि सर्वदलीय बैठकले अनुरोध गरेको थियो । व्याँसमा हिमपात सुरु भइसकेकाले मङ्सिर १० गतेसम्म सबै मतदाता खलंगा बसाइँ सर्ने भन्दै आयोगलाई अनुरोध गरिएको थियो ।

व्याँसमा हिमपात सुरु भएकाले चिसो बढेसँगै सौका समुदायले खलंगा बसाइँ सराइ गर्न थालेका छन् । व्याँसको तिंकरमा रहेको मोती महिला सङ्घ आधारभूत विद्यालय केन्द्रमा २०७ तथा कैलाशपति निमावि छांगरु केन्द्रमा ३३४ गरी कूल ५४१ मतदाता रहेका छन् । उक्त केन्द्रलाई खलंगामा रहेका सोही नामका विद्यालयमा कायम गर्नका लागि आयोगले अनुमति दिइसकेको मुख्य अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =