चितवनमा भोट हाल्न सिकाउने जनशक्ति तयार
“
किशोर खनाल, भरतपुर । निर्वाचन कार्यालय भरतपुरले नागरिकहरुलाई भोट हाल्न सिकाउने जनशक्ति तयार पारेको छ । मतदाता शिक्षा तालिममार्फत नागरिकहरुलाई भोट हाल्न सिकाउने जनशक्ति तयार पारिएको निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरि ढकालले जानकारी दिए ।
मतदाता शिक्षा कार्यक्रम आज मङ्गलवारसम्म चल्ने निर्वाचन कार्यालय भरतपुरले जनाएको छ । ‘जनशक्ति तयार भइसकेको छ, अब गाउँगाउँमा भोट हाल्ने तरिका सिकाउन पुग्छन्’ निर्वाचन कार्यालय प्रमुख ढकालले भने, ‘यस पटक जनशक्ति धेरै छन् । त्यसैले दुई ठाउँबाट तालिम दिइएको हो ।’
स्थानीय तहको चुनावमा मतदाता शिक्षा तालिम दुई दिनको थियो । यस पटक एकदिनको मात्र हो । ‘पहिला पनि तालिम दिइएको हुनाले यस पटक आयोगले एक दिनको बनाएको हुन सक्छ’ उनले भने । यस पटक भोट हाल्न तरिका सिकाउने जनशक्ति ४०८ जना छन् । जनशक्तिमा पुरुषको तुलनामा महिलाको सङ्ख्या दुई तिहाईभन्दा बढी छ । स्थानीय चुनावमा ३७६ जनालाई मतदाता शिक्षा तालिम दिइएको थियो ।
भरतपुरको चितवन मावि नजिक रहेको शैक्षिक तालिम केन्द्र र जिल्ला समन्वय समितिको हलमा मतदाता शिक्षा तालिम दिएर भोट हाल्ने जनशक्ति तयार पारिएको निर्वाचन कार्यालय भरतपुरका सूचना अधिकारी भीमप्रसाद ढकालले जानकारी दिए ।
पहिलो दिन २६ गते १४० जनालाई, दोस्रो दिन २७ गते २०० जनालाई तालिम दिइएको उनले बताए । बाँकी सबैलाई आज मङ्गलवार २८ गते मतदाता शिक्षा तालिम दिएर भोट हाल्न सिकाउने जनशक्ति तयार पारिने सूचना अधिकारी ढकालले जानकारी दिए ।
सर्वोच्च अदालतले प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र अलग अलग बनाउन निर्देशन दिएपछि मतदाता शिक्षा कार्यक्रम पनि ढिला सुरु भएको थियो । यसअघि आयोगले एउटै मतपत्र छापेको थियो । सर्वोच्चको आदेशपछि आयोगले अलगअलग मतपत्र छापेर जिल्लामा पठाउँदा ढिला भएको हो । तर पनि जनशक्ति तयार पारिएको र एकदुई दिनमै भोट हाल्ने तरिका सिकाउन गाउँगाउँमा पठाइने निर्वाचन कार्यालय भरतपुरले जनाएको छ । भोट हाल्ने तरिका सिकाउने जनशक्तिमा शिशु शिक्षिका, स्वास्थ्य स्वयम्सेविका र सामाजिक परिचालिका रहेका छन् ।
‘यस पटक सिकाउन गाह्रो छैन’
भोट हाल्ने तरिका सिकाउन यस पटक गाह्रो नभएको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको चुनावमा मतपत्र लामो थियो । अहिले मतपत्र छोटो छ । ‘प्रत्यक्षतर्फको मतपत्र छोटो र छरितो छ, यस पटक मतपत्रमा कुनै झन्झट छैन र निर्वाचन शिक्षा कार्यकर्तालाई सिकाउन पनि गाह्रो छैन’ निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले भने, ‘छोटोछरितो मतपत्र भएकाले निर्वाचन शिक्षा कार्यकर्तालाई नागरिकहरुलाई बुझाउन पनि सजिलो छ ।’
प्रत्यक्षतर्फको मतपत्र छोटो र छरितो भए पनि ३ वटा मतपत्रमा ४ वटा छाप लगाउनुपर्ने भएकाले मतदान प्रक्रिया केही झन्झटिलो देखिएको छ । ‘स्थानीय तहमा ७ ठाउँमा भोट दिनुपथ्र्यो, अहिले ४ ठाउँमा भोट दिनुपर्छ । केही सहज त भयो नि’ सूचना अधिकारी भीमप्रसाद ढकालले भने, ‘भोट हाल्न सिकाउने जनशक्तिलाई पनि सिकाउन सजिलो हुन्छ ।’
एउटा मत खसालेपछि बल्ल अर्को
यस पटक मतदाताले एउटा मतपत्र खसालेपछि बल्ल अर्को मतपत्र पाउँछन् । पहिलो मतपत्र प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारको हुन्छ । प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारको चिन्हमा स्वस्तिक छाप लगाएर मतपत्र बाकसमा खसाइसकेपछि मतदाताले बल्ल अर्को मतपत्र पाउँछन् । दोस्रो मतपत्र प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारको चिन्हमा स्वस्तिक छाप लगाएर बाकसमा खसालेपछि मतदाताले तेस्रो मतपत्र पाउँछन् । तेस्रो मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक उम्मेदवारलाई मतदान गर्नुपर्छ ।
समानुपातिकको मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका समानुपातिक र तल्लो भागमा प्रदेशसभाका समानुपातिकका लागि मत सङ्केत गर्नुपर्छ । प्रदेश र प्रतिनिधिसभाको मतपत्रमा एक एक स्वस्तिक छाप लगाइन्छ भने समानुपातिको मतपत्रमा पहिलो खण्डमा एक र दोस्रो खण्डमा एक गरी दुई वटा स्वस्तिक छाप लगाइन्छ ।
मतपत्र तीन रङ्गको हुन्छ । मतदाताले अन्तिम पटक पाउने समानुपातिकको मतपत्र रातो रङ्गको हुन्छ । प्रदेश सभाको मतपत्र कालो र प्रतिनिधि सभाको मतपत्र निलो हुन्छ ।
“