पेट्रोलियम पाइपलाइनको निर्माण जनवरीबाट सुरु हुने

“
कात्तिक २५, काठमाडौं । रक्सौलबाट अमलेखगञ्ज सम्मको बहुप्रतिक्षित पेट्रोलियम पाईपलाईन बिछ्याउने कार्य आगामि जनवरीबाट सुरु हुने नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार डिसेम्बरभित्र भारतबाट पाइपलाइनका लागि आवश्यक पाइप आउन सुरु गर्नेछ । पाइपलाइन निर्माण सुरु भएको ३६ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ ।
पाइप राख्नका लागि निगमले वीरगंज चिनी कारखानाको जग्गा भाडामा लिइसकेको छ।आपूर्ति सचिव कृष्णप्रसाद देवकोटाको नेतृत्वको टोलीले पाइपलाइन निर्माणस्थलको निरीक्षण समेत गरेको छ।टोलीमा आयल निगमका प्रबन्ध निर्देशक सुशील भट्टराई र निर्देशक गोइत तथा भारतीय आयल निगम ९पाइपलाइन० निर्देशक अनिश अग्रवालको नेतृत्वको भारतीय टोलीमा सोही विभागका प्रमोद नारङ र भारतीय आयल निगमका महाप्रबन्धक एसएस बोस सहभागी छन्।
प्रवक्ता गोइतले अमलेखगञ्जदेखि रक्सौलसम्मको निरीक्षण क्रममा संयुक्त टोलीले त्यस क्षेत्रमा भइरहेको सडक विस्तार पाइपलाइन बिछ्याउन सहज हुने भए पनि कतिपय स्थानमा घरटहरा र विद्युत् खम्बा तथा ट्रान्सफर्मर हटाउनुपर्ने निष्कर्ष निकालेको बताए । तीनदिने भ्रमणका लागि नेपाल आएको भारतीय टोलीले आएकै दिन नेपाल आयल निगमका उच्च अधिकारीसँग काठमाडौँमा सो परियोजनाका विविध पक्षका बारेमा छलफल गरिसकेको छ । अमलेखगञ्जदेखि रक्सौलसम्मको ३८ किमी लम्बाइ पाइपलाइन बिछ्याउन बोलपत्र हुनाका साथै आगामी डिसेम्बरसम्म सम्पूर्ण आवश्यक सामग्री आइसक्ने उनले बताए ।
परियोजनाको लागत रु चार अर्ब २० करोड रहेको प्रवक्ता गोइतले जानकारी दिए । सो परियोजना भारतको मोतीहारीसम्म विस्तार गर्ने भारत पक्षको तयारी छ । यसको कुल लम्बाइ ७२ किमी छ । भारतले हालको रक्सौल डिपोलाई मोतीहारीमा विस्थापन गर्ने काम अघि बढाइसकेको छ ।
“








