डा. शर्मालाई सिङ्गो गाउँको साथ !
“
कार्तिक २५, मोरङ । मोरङ, बेलबारी–४ को सिङ्गो गाउँ नै काँग्रेसमा प्रवेश गरेको छ । ‘जुन पार्टीले आफूलाई सहयोग गर्छ । उसैलाई सहयोग गर्ने’ भन्दै विज्ञप्तिमार्फत वर– पिपल स्थानीयबासीहरुले शुक्रबार एक सभा आयोजना गरि काँग्रेस प्रवेश गरेका हुन् । मोरङ क्षेत्र नम्बर–३ प्रतिनिधिसभाका उम्मेदवार डा. सुनिल कुमार शर्माले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
विराटनगर नोबेल मेडिकल कलेजका निवर्तमान अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर–३ का प्रनितिनिधिसभा तर्फका प्रत्यक्ष उम्मेदवार डा. सुनिल कुमार शर्माले सबैलाई आफूप्रति पूर्ण विश्वस्त हुन अनुरोध गर्दै निजी लगानीमार्फत् सडक विस्तारका ३० ट्रक गिटीसहित दुई वटा बिजुलीको खम्बा दिने समेत उद्घोष गरे । गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दै गरिब तथा निमुखा जनतालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउदै आएका डा. शर्माले आफूले कुरा होइन काम गर्न उम्मेदवारी दिएको बताए ।
गाउँलेहरुले तीन सय मिटर जोगी चौर सडक खण्ड विस्तारको लिखितम् माग राख्दै ‘जुन पार्टीले सहयोग गर्छ, उसैलाई सहयोग गर्ने’ सडक व्यवस्थापन समितिका अध्यक्ष उमेश राईको नेतृत्वमा सिङ्गो गाउँ नै पार्टी प्रवेश गरेको हो ।
यसअघिका निर्वाचनमा वर पिपल बासिन्दाहरुले पार्टीलाई भोट दिएर जिताएपनि विकासका नाममा सिन्को नभाँचेको भन्दै अब साँच्चीकै जुन पार्टीले सहयोग गर्छ उसैलाई भोट दिने भन्दै विज्ञप्तिमार्फत् आफ्नो माग राखेका थिए ।
एक सय पचास घरधुरी रहेको बेलबारी–४ वर पिपलका स्थानीय बासिन्दाहरुले उम्मेदवार शर्मा समक्ष सडक विस्तारसँगै पिउने पानीको पनि माग राखेका थिए ।
यता, शुक्रबार नै पथरी बजारमा आयोजित चुनावी सभामा मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङको नेतृत्वमा माओवादी, एमाले र लिम्बुवान पार्टीका कैयौं
कार्यकर्ताहरु कांग्रस प्रवेश गरेका थिए । उनीहरु सबैलाई मोरङ क्षेत्र नम्बर–३ प्रतिनिधि सभाका उम्मेदवार सुनिल कुमार शर्माले पार्टीमा स्वागत गरे ।
मोरङ–३ प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेद्वार डा.सुनील शर्मा र प्रदेश सभा ‘क’ का उम्मेद्वार सुर्यराज राईले तामाङ सहित ३ सय ८ जनालाई फुलमाला र अविर लगाएर कांग्रेसमा स्वागत गरे । यस्तै कांग्रेस प्रवेश गर्नेमा युवा संघ पथरीशनिश्चरेका मिलन राई, दिनेश राई, नेकपा माओवादी केन्द्रका सन्तोष लिम्बू, राजु राई,पुष्प तामाङ, अनुप राई, सुरज जीसी लगायत छन् ।
“