इटहरी यातायातका लेखापाल सुरेश अधिकारीद्वारा ६१ करोड भ्रष्टाचार !

कार्तिक २४, सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोसी इटहरीका लेखापाल सुरेश अधिकारीमाथि अनुसन्धान थालेको छ । अख्तियारले गत आइतबार काठमाडौँको रानीबारीबाट उनलाई पक्राउ गरेको हो ।

इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका उनले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर हिनामिना गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । अधिकारीमाथि ६१ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको सहसचिव तथा आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।

२०७० देखी ७२ को अवधिमा राजस्व दाखिला नगरेको आरोपमा अख्तियारले तीन उपसचिव, दुई अधिकृत र तीन लेखापाल गरी आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।छानबिनका क्रममा लेखापाल अधिकारीसहित केही कर्मचारी निलम्बनमा परेका थिए । लेखापाल अधिकारी दुई वर्षअगाडि सरुवामा पर्दा पनि रमाना नलिएर जबर्जस्ती यातायात कार्यालय कोसीमै बसेका थिए ।

सेटिङ मिलाएर कमाउधन्दा गर्दै आएका अधिकारीले अन्यन्त्र सरुवा लिन नमानेको बताइएको छ । उता राजस्व हिनामिना प्रकरणमा अख्तियारले यातायात कार्यालयका तत्कालीन प्रमुख रमेशप्रसाद दाहालविरुद्ध १२ करोड ३० लाख, उपसचिव विष्णुप्रसाद पौडेलविरुद्ध २३ करोड ७७ लाख र अर्का उपसचिव नयराज नेपालविरुद्ध २५ करोड १३ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

लेखा अधिकृत कुमारबहादुर कटुवालविरुद्ध दुई करोड १४ लाख र टीकाराम अधिकारीविरुद्ध ५७ करोड २५ लाख, लेखापाल सुरेश अधिकारीविरुद्ध कुल बिगोको सबै हिस्सा अर्थात् ६१ करोड २१ लाख रुपैयाँ, देवराज नेपालमाथि ४५ करोड ६१ लाख, रुद्रप्रसाद दाहालविरुद्ध २१ करोड ६३ लाख रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =