यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

काठमाडौं, कात्तिक २४ ।

पाइपलाइन निर्माणमा सक्रियताः गोरखापत्र 

करिब चार अर्ब रुपियाँको लागतमा भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन निर्माणबारे छलफल गर्न भारतीय टोली अहिले काठमाडौँमा छ ।  दुवै देशका सम्बद्ध अधिकारीबीच तीन दिनसम्म हुने यो छलफलले बहुचर्चित र बहुप्रतीक्षित पाइपलाइन बिछ्याउने परियोजना अगाडि बढ्ने र समयमै सम्पन्न हुने आशा पलाएको छ ।

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने यो परियोजना यसै वर्ष (सन् २०१७) सुरु गरेर सन् २०१८ भित्रै सम्पन्न गर्ने लक्ष्य छ ।  करिब दुई दशकदेखि चर्चामा रहे पनि यो पाइपलाइन निर्माणसम्बन्धी सम्झौता चाहिँ २०७२ भदौमा भएको हो ।

२०७१ साल साउनमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणताका यो परियोजना निर्माणसम्बन्धी कुरा उठेको थियो ।  भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्ज सम्मको कुल ६९ किमि लामो पाइपलाइन बिछ्याउने यो परियोजनाको ३३ किमि मोतिहारी–रक्सौल खण्डमा र ३७ किमि रक्सौल–अमलेखगञ्ज खण्डमा पर्छ ।

 त्यसैले यो परियोजनाको कामलाई तीव्रता दिन र समयमै सम्पन्न गराउनेतर्फ सरकारको ध्यान जानु आवश्यक छ ।

विप्लव गतिविधिको नियन्त्रणः अन्नपुर्ण 

म्मेदवारको प्रचारमा प्रयोग भएको मोटरसाइकलबाट मंगलबार गोरखामा हतियार समातियो । निर्वाचनको पूर्वसन्ध्यामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न स्थानमा उम्मेदवार धम्क्याएर चन्दा असुल्न थालेकाले तिनलाई पक्रन गृह मन्त्रालयले जिल्ला सुरक्षा समितिलाई निर्देशन दियो ।

यी घटनाले चुनावमा सुरक्षा निकायको सतर्कता र चनाखो उपस्थिति आवश्यक देखिन्छ ।

अघिल्लो साता जंगी अड्डामा बसेको नेपाली सेनाको पृतनापतिको बैठकले ‘विप्लव र उनका कार्यकर्ता जनस्तरबाटै बहिस्कृत भइसकेको’ निष्कर्ष निकाले पनि प्रमुख दलकै आपराधिक प्रवृत्तिका केही नेता-कार्यकर्ता तथा विप्लव माओवादीको सम्भावित सुरक्षा खतरालाई नजरअन्दाज गर्न मिल्दैन । निर्वाचन स्थलमा सामान्य हुलदंगाका घटना हुँदासमेत सर्वसाधारण डराउने अवस्थामा सानोतिनो बम या भरुवा बन्दुक पड्किँदा के होला ? त्यसबारे अहिल्यै मूल्यांकन गर्दै सोअनुसारको कार्ययोजना बनाउनुपर्छ।

यस सन्दर्भमा पेरूमा कुनै बेला युद्ध चलाएका गोन्जालोलाई सम्झनु श्रेयस्कर हुन्छ ।

अहिले जेलजीवन बिताइरहेका गोन्जालोद्वारा दीक्षित उनका कतिपय नेता-कार्यकर्ता लागूऔषध ओसारपसार र अन्य खालका अपराधमा संलग्न छन् । विप्लवले पेरूबाट पाठ सिकेर तत्कालै शान्तिपूर्ण राजनीति स्विकानुपर्ने देखिन्छ ।

चुनावको छेकोमा महँगीः नयाँ पत्रिका 

स्थानीय निर्वाचन सकिएको र संघीय तथा प्रादेशिक संसद्का लागि निर्वाचन भइरहेको तथा सरकारको हैसियतसमेत कामचलाउ भएको अहिलेको समयमा बजारमा महँगीले गोमनझैँ शिर उठाएको अनुभव उपभोक्ताले गरेका छन् ।

खासगरी तरकारीको बजारभाउ आकासिएको छ । सय रुपैयाँभन्दा तल हरियो तरकारी पाउनै नसकिने भएको छ ।

उता किसानले भने तरकारीमा खासै मूल्य नपाइरहेको अवस्थामा उपभोक्ताले भने अत्यधिक चर्को मूल्य तिर्नुपर्ने अवस्था आएको हो । यसले हाम्रो बजार व्यवस्था पूर्ण रूपमा अनियन्त्रित र अराजक ढंगले चलिरहेको संकेत गर्छ । यतिवेलै मूल्यवृृृद्धि हुनुपर्ने गरी तरकारीको उत्पादन घटेको पनि होइन । बजारमा हिउँदे तरकारीको पर्याप्त आपूर्ति हुने समय हो यो ।

बिस्तारै नयाँ बाली भित्रिने र सुक्खा तरकारीको आपूर्ति पनि बढ्ने समय भएकाले यतिवेला नै तरकारीको समग्र मूल्यवृद्धि हुनुपर्ने कुनै तार्किक कारण देखिन्न ।

निर्वाचनका समयमा प्रशासनसमेत सक्रिय नहुने र अनुगमनका नियमित काम पनि नहुने भएकाले व्यापारीहरू फुक्काफाल भएर भाउ बढाएको तथा यसलाई परोक्ष रूपमा राजनीतिक दल र नेतृत्वको संरक्षण रहेको देखिन्छ । यसतर्फ सरोकारवाला निकायको तत्काल ध्यान जानु जरुरी छ ।

चन्दाआतंकको भावी असरः नेपाल  समाचारपत्र

नजिकिँदै गरेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको निहुँमा उद्योगी व्यवसायी एवं निजी शैक्षिक संस्थाहरुबाट विभिन्न राजनीतिक दलका नाममा चन्दा असुली भइरहेको चर्चा छ । चन्दा मागकै कारण विशेष गरी निजी विद्यालयका प्रिन्सिपल विद्यालय बस्नै छाडेको समाचार छ ।

मंसिर १० र २१ गते हुने आमनिर्वाचनका लागि सहयोग माग्नेको लर्को लाग्न थालेपछि उनीहरू कार्यकक्ष नै छोडेर भाग्न थालेका छन् ।

लिखितरुपमा चिठी लिएर आउनेभन्दा पनि मोबाइलबाट फोन गरेर चन्दा माग्नेको संख्या बढेको निजी शिक्षण संस्थाका सञ्चालकहरुको भनाइ छ ।

आखिरमा चन्दा लिने नेताहरु नै उनीहरुको विरोध गर्न नसकी मौन समर्थन जनाउन पुग्छन् र यसको मार सर्वसाधारणमा पर्छ । त्यसैले राज्यले नै चन्दाआतंकलाई निस्तेज पार्नुपर्छ । कसैले जबरजस्ती चन्दा उठाउँछ भने उसलाई हदैसम्मको कारबाही गर्न पछि पर्नुहुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 5 =