नयाँ दिल्लीको तुवाँलो हटेन

नयाँ दिल्ली । वायुमण्डलमा बाक्दो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँ दिल्लीमा बिहीबार पनि समस्या यथावत रहेको छ । भारतीय सहर नयाँ दिल्लीमा वायु प्रदूषणको समस्या घटेको छैन । उक्त प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित मापदण्डभन्दा ७० गुणासम्म बढी रहेको पाइएको छ ।

उक्त मापदण्डमा सुधारका लागि विशेष पहल गर्न सबैले सरकारलाई आग्रह गरेका छन् । भारत सरकारले नयाँ दिल्लीका सबै प्राथमिक विद्यालयहरू बुधवारदेखि बन्द गरेको थियो ।

नयाँ दिल्लीका उप मुख्यमन्त्री मनिष सिशोडियाले बालबालिकाको स्वास्थ्यमा चाँडै असर गर्ने भएकोले विद्यालयहरू बन्द गर्नुपरेको बताउनु भएको समाचारमा जनाइएको छ । उहाँले कहिलेसम्म विद्यालय बन्द गरिरहने भन्ने बारेमा सरकारले वातावरण विज्ञहरुसँग सल्लाह गरिरहेको जानकारी पनि दिनुभयो । उहाँले दिल्ली सहरमा प्रत्येक घण्टामा प्रदूषणको स्थितिको बारेमा मापन र निरीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

नयाँ दिल्लीस्थित अधिकारीहरुकाअनुसार दिल्लीमा अवस्थित विद्यालयहरुलाई बाहिर खुला ठाउँमा कुनै पनि गतिविधिहरू सञ्चालन नगर्न आग्रह गरिएको बताएका छन् । भारतीय मेडिकल सङ्घ आईएमएले जनस्वास्थ्यमा आपतकालको अवस्था रहेको बताएको छ । उक्त सङ्घले प्रदूषणले उत्पन्न गरेको वर्तमान जोखिम कमगर्न आवश्यक प्रयासका लागि आह्वान गरेको छ ।

दिल्ली सरकारले बुधवार मात्र नयाँ दिल्लीमा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरेको जानकारी दिएको थियो । त्यसैकारण पनि सार्वजनिक स्थलमा हुने खुला कार्यक्रमहरू कम भएका छन् ।

दिल्लीमा बढ्दो तुवाँलोको अवस्था यस्तै रहेमा आगामी १९ नोभेम्बरमा आयोजना हुन लागेको म्याराथन प्रतियोगिता पनि स्थगित हुनसक्ने बताइएको छ । आईएमएले भने सो स्थगित गर्न सुझाएको छ ।

नयाँ दिल्ली विश्वकै सबभन्दा प्रदूषित सहरमध्येमा पर्छ । दिल्लीलाई लगातार तेस्रो दिन बिहीबार पनि बाक्लो तुवाँलोले ढाकेको छ । वातावरण र स्वास्थ्यका अधिकारीहरू यसको समाधानका उपायहरू खोजिरहेका छन् । तर, तुवाँलो समस्या समाधानका लागि भएका प्रयासहरू प्रभावकारी हुन सकेका छैनन् । अधिकारीहरूले धैर्यगर्न सर्वसाधारणलाई अपिल गरिरहेका छन् ।

राजधानी नयाँ दिल्लीमा प्राय जाडो महिना सुरु भएपछि यसै गरी बाक्लो तुवाँलो आउने गर्दछ । केही बर्षयतादेखि नयाँ दिल्लीको वायु प्रदूषणको मात्रा बढ्दै जान थालेकोले यस्तो समस्या देखिएको बताइएको छ । नयाँ दिल्लीको औद्योगिकरण, फोहोर र सवारी साधनको चापलाई वायु प्रदूषणको प्रमुख कारणका रूपमा लिने गरिएको छ ।

स्वास्थ्यका अधिकारीहरूले अरू एक दुई दिनमात्र पनि यसै गरी तुवाँलो नहट्ने हो भने यसले नागरिकको स्वास्थ्यमा समस्या देखिन सक्ने अवस्था रहेको बताएका छन् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =