मोरङ–३ का जनतालाई डा. शर्मा भन्छन्

मोरङ, कात्तिक २३ । आगामी मङ्सिर २१ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा मोरङ् क्षेत्र नं. ३ को चुनावी माहोल चर्किँदै गएको छ । चुनावी माहौल तातिँदै गर्दा नेपाली काँग्रेसका प्रत्यासी उम्मेदवार भने जनमत बुझ्न घरदैलो कार्यक्रममा व्यस्त भएका छन् ।

 यति बेला सो क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका डा. सुनिल कुमार शर्मा उम्मेद्वारका घरघरमा गएसँगै अन्य पार्टीमा वर्षौदेखि लागेका नेता तथा कार्यकर्ता समेत काँग्रेसमा प्रवेश गर्ने लर्को लागेको छ । विगतमा माओवादी–एमालेलाई भोट खसाल्दै आएका पूर्व कार्यकर्ता तथा स्थानीयबासीहरु माओवादी–एमालेले कुनै काम गर्न नसकेको भन्दै धमाधम नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

आफ्नो क्षेत्रभन्दा बाहिरबाट आएका आयातित उम्मेद्वारले मोरङ क्षेत्र नं. ३ को दुःख बुझ्न नसक्ने उनीहरूको ठहर छ । हिजो बुधवार बाम गठबन्धनका कार्यकर्तासहित ५० भन्दा बढी पथरीबासीहरु काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरू सबैलाई प्रतिनिधि सभा प्रत्यक्ष उम्मेदवार डा.सुनिल कुमार शर्मा, प्रदेश सभा ‘क’का प्रत्यक्ष उम्मेदवार सुयारमान राई र मोरङ क्षेत्रीय सभापति गणेश खड्काले पार्टी प्रवेश गराएका थिए । मङ्गलवार मात्रै बाम गठबन्धनबाट पाँच सयबढि नेता तथा कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गरेका छन् । मोरङ पथरी–२ का सागर लिम्बू, विशाल गुरुङ, भेषराज लिम्बूसहित चार दर्जन कार्यकर्ताहरू नेपाली काँग्रेसमा प्रवेश गरेको पार्टीले जनाएको छ ।

आफूहरूले माओवादी–एमालेलाई पटक पटक भोट दिएर पठाएपनि गाउँको विकासमा कुनै योजना नल्याएको, स्थानीय समस्यालाई सम्बोधन नगरेको पथरी–२ का सागर लिम्बूले बताए । उनले यस पटक पार्टी भन्दापनि व्यक्ति हेरेर जनताले भोट दिने भन्दै काँग्रेसका उम्मेदवार स्थानीय तथा जनताका पीरमर्का बुझ्ने रहेको जिकिर गरे । ‘अहिलेसम्म हामीले एमालेलाई जिताएका थियौँ । उसले अनेक विकासे लोभ लालसा देखायो तर, कार्यान्वयनमा यो क्षेत्रका लागि केही गर्न सकेन ।

यस पटक पार्टी होइन डा. सुनिल शर्माको व्यक्तित्व र क्षमतालाई हेरेर पार्टी प्रवेश गरेका हौँ ।’ उनले भने,–‘अब, जसरी हुन्छ उहाँलाई जिताएर गाउँको मुहार फेर्न चाहन्छौँ ।’ विराटनगर मेडिकल कलेजका प्रमुख समेत रहिसकेका डा. शर्माको कलेजले सो क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिरहँदा केही बाम गठबन्धनका कार्यकर्ताले हारको मानसिकतामा विरोध जनाउँदै प्रहरी परिचालन समेत गरेका थिए । तर, स्थानीय जनताले जनताका लागि गरिएको निःशुल्क स्वास्थ्य शिविरलाई बन्द गर्न नपाईने भन्दै विरोध गरेपछि एमाले–माओवादीका कार्यकर्ता र प्रहरी पछि हटेका थिए । यता चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसका प्रत्यक्ष उम्मेदवार डा. शर्माले आफू बोलेर हैन कामै गरेर देखाउन आएको बताए । ‘मलाई आँखामा छारो हालेर कुरा गर्न आउँदैन, मुखले हैन कामै गरेर देखाउछु । उनले भने,–‘अहिले स्वास्थ्य शिविर सञ्चालन गरिएको भन्दै माओवादी एमालेका कार्यकर्ताहरूले चुनाव भाँड्न अनेक रणनीति अपनाइरहेका छन् । उनीहरूसँग चेतना छ भने मनमोहन मेमोरियल अस्पतालबाट बिरामीहरुको निःशुल्क उपचार गरेर देखाउन सल्लाह दिन चाहन्छु ।’ उनले भने । डा. शर्माले काँग्रेस र नोबेल मेडिकलको झन्डा लिएर स्वास्थ्य शिविर सञ्चालन नगरेको जिकिर गरे ।

उनले नेकपा एमालेका उम्मेद्वारलाई ‘टुरिष्ट उम्मेदवार’ भन्दै उनले आफूले जितेको क्षेत्रका लागि समेत केही गर्न नसक्ने दाबी गरे । ‘उहाँ तेह्रथुमबाट आउनु भएको टुरिष्ट उम्मेदवार हुनुहुन्छ । मोरङमा कति गाविस छन्, यहाँका समस्या केके छन् ? यहाँका जनता के चाहन्छन् ? यहाँका शिक्षा, स्वास्थ्य, यातायात, विकासका एजेण्डाका बारेमा उहाँलाई केही थाहा छैन ।’ उनले भने ।–‘यस्ता आयातित व्यक्तिले यहाँको विकास गर्छन् भन्ने लाग्दैन ।’ पार्टी प्रवेश कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नम्बर–३ प्रदेशतर्फ ‘क’ का प्रत्यक्ष उम्मेदवार सुयारमान राईले एकचोटी युवालाई जिताएर देशको मुहार फेर्न स्थानीय समक्ष अनुरोध गरे । ‘तपाईहरुले पटक पटक भोट दिनुभयो तर, अब यस पटक युवालाई एक चोटि भोट दिएर हेर्नुस् ।’ उनले भने,–‘एकचोटी फेरि जनताले युवालाई चुन्ने अवसर आएको छ । तपाईहरुले कुनै पनि हालतमा त्यो मौका उम्किन दिनु हुने छैन ।’

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =