सोमबारदेखि इम्बोष्ड प्लेट वितरण प्रक्रिया सुरु

कार्तिक १९, काठमाडाैं । सरकारले सोमबारदेखि सवारी साधनमा नयाँ प्रविधिको इम्बोष्ड प्लेट वितरण प्रक्रिया सुरु गर्ने भएको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि ३ पाङ्ग्रे, ४ पाङग्रे साना र ४ पाङग्रे ठुला सवारी साधनमा इम्बोष्ड प्लेट वितरणका लागि अनलाइन सेवामार्फत आवेदन खुला गर्ने भएको हो ।

प्रदेश संरचना अनुसार नै इम्बोष्ड नम्बर वितरणको काम सुरु गर्न लागिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । इम्बोष्ड नम्बर प्लेट वितरण भने पहिलो चरणमा प्रदेश नम्बर ३ बाट सुरु हुनेछ । इम्बोष्ड नम्बरका लागि आवेदन ललितपुरको एकान्तकुनास्थित साना तथा ठुला सवारी व्यवस्थापन कार्यालयमा बुझाउनु पर्नेछ ।

इम्बोष्ड प्लेट लिन ३ पाङग्रेका लागि २ हजार ९ सय, ४ पाङग्रे सानाका लागि ३ हजार २ सय र ४ पाङग्रे ठुला सवारीका लागि ३ हजार ६ सय शुल्क बुझाउनु पर्नेछ । प्रवक्ता पाण्डेले इम्बोष्ड प्लेटमा अन्चलको सट्टा प्रदेश नम्बर उल्लेख गर्न लागिएको पनि स्पष्ट पारे । सरकारले गत कार्तिक १३ गते इम्बोष्ड प्लेटका लागि आवेदन खुला गर्ने निर्णय राजपत्रमार्फत् सार्वजनिक गरेको थियो । सोही सूचनाको आधारमा अव इम्बोष्ड प्लेटका लागि आवेदन खुला गरिएको पनि प्रवक्ता पाण्डेले जानकारी दिए ।

सरकारले अरू प्रदेशहरुमा पनि इम्बोष्ड नम्बर वितरणको काममा ढिलाइ नगर्ने पनि स्पष्ट पारेको छ । क्यालेन्डर बनाएरै इम्बोष्ड नम्बर वितरणको कामलाई अरू प्रदेशहरुमा पनि एकैसाथ सुरु गर्न लागिएको पनि विभागले जनाएको छ । विभागका प्रवक्ता पाण्डेले प्रदेशको नामाकरण भएपछि पनि काम लाग्ने गरी इम्बोष्ड प्लेटको व्यवस्था गरिएको पनि बताए ।

सरकारले सवारी साधन तथा यातायात नियमावली संशोधन गरी सवारी साधनमा अत्याधुनिक इम्बोष्ड नम्बर राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seven =