चन्द्रमामा ५० किमि लामो गुफा फेला पर्यो

“
पूर्वी एसिया । जापानी वैज्ञानिकहरुले चन्द्रमाभित्र ठूलो गुफा पत्ता लगाएका छन् । गत हप्ता वैज्ञानिकहरुले जनाएअनुसार यो गुफामा चन्द्रमामा जाने अन्तरिक्षयात्रीहरु बस्न सक्नेछन् । खतरनाक विकीरण र तापमानमा आउने परिवर्तनबाट अन्तरिक्षयात्रीलाई बच्न यो गुफा सहयोगी हुने उनीहरुको भनाइ छ ।
जापानको एईएईएनई लुनार अर्बिटरबाट प्राप्त तथ्यांकअनुसार चन्द्रमामा अहिले पनि रहेको यो गुफा करिब ३.५ अर्ब वर्ष पहिले चन्द्रमाभित्र आएको हलचलको कारण बनेको हुनसक्ने बताइएको छ । यो गुफाको लम्बाई ५० किलोमिटर र चौडाइ १०० मिटर रहेको छ ।
वैज्ञानिकहरुका अनुसार यो गुफा भूगर्भबाट निस्किएको लाभाको कारण बनेको बताइएको छ । जापानी वैज्ञानिकको यो तथ्यलाई अमेरिकी पत्रिका जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित गराइएको छ । जापानी वैज्ञानिक जुनिची हारुयामाले यसअघि यो गुफा पत्ता नलागेको बताए ।
जमिनमुनि रहेको यो गुफा चन्द्रमाको मारियस हिल्स नामको स्थाननजिकै छ । जापानले यही वर्षको जुन महिनामा २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष मिसन पठाउने घोषणा गरिसकेको छ । भारत र चीनले पनि आआफ्नो अन्तरिक्ष यात्री चन्द्रमामा पठाउने तयारी गरिरहेका छन् ।
चन्द्मामा सबैभन्दा पहिले २० जुलाई १९६९ मा मानिसले पाइला टेकेको थियो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका दुई अन्तरिक्षयात्रीहरु निल आर्मस्ट्रंग र बज एल्ड्रिनले अन्तरिक्ष विमान एपोलो ११ मा गएर चन्द्रमा पुगेका थिए । नवभारत टाइम्स
“








