उद्योगपति विनोद चौधरी काँग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा

काठमाडौं, कात्तिक १४ ।  विश्वमै ख्यातिप्राप्त मानिने फोब्र्स पत्रिकाको अर्बपतिको सूचीमा बर्सेनि समावेश हुँदै आएका एकमात्र नेपाली उद्योगपति विनोद चौधरीलाई नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ।

चौधरी यसअघि नेकपा (एमाले)बाट समानुपातिक सांसद रहेका थिए । नेपाली काँँग्रेसमा प्रवेश गरेपछि चौधरीलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको पार्टी सचिवालयले जनाएको छ ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगपति चौधरीलाई मङ्गलबार एक पत्र लेख्दै नेपाली काँग्रेसमा स्वागत गरेका छन । देउवाले चौधरीलाई लेखेको पत्रमा नेपाली अर्थतन्त्रको विकासमा विशेष क्षमता प्रदर्शन गरेका व्यक्तिहरूलाई नेपालको आर्थिक विकास अभियानको नेतृत्वदायी भूमिकामा नेपाली काँग्रेसले राख्न चाहेको उल्लेख गर्दै भनेका छन् , “नेपाली काँग्रेसले लिएको मुलुकको आर्थिक विकासको अभियानमा तपाईंको सबल, सक्षम र सबैलाई परिचालन गर्नसक्ने भूमिकाबाट नेपालले अपेक्षित नतिजा हासिल गर्नसक्ने विश्वास लिएको छु । ”

उद्योगपति चौधरी नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष, नेपाल उद्योग परिसङ्घको पूर्वअध्यक्ष र हाल परिसङ्घकै इमिरेट्स हुन् । सभापति देउवाले नेपाली अर्थतन्त्रको समृद्धिमा विशिष्ट योगदान पु¥याउने उद्यमी, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, वर्तमान र पूर्वपदाधिकारीलाई राष्ट्रिय समृद्धिको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि आफूले आग्रह गर्दै आएको पनि स्पष्ट गरेका छन् ।

खाद्य पदार्थ, विद्युतीय सामग्री उत्पादन गर्ने उद्योग, सवारी साधनहरूको बिक्री वितरणलगायत शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि लगानी गर्दै आएका चौधरी मुलुककै सबैभन्दा ठूलो व्यावसायिक घराना सीजी ग्रुपको अध्यक्ष हुन् ।
उनका स्वदेश तथा विदेशमा ८० भन्दा बढी कम्पनी सञ्चालनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =