निर्वाचन आयोग भन्छ ‘उम्मेदवारी दर्ता उत्साहजनक’
“
कार्तिक ५, काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १० गते पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको काम उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आइतबार अपरान्ह काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको काम उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी गराएका हुन् । त्यस अवसरमा उनले उम्मेदवार मनोनयनको काम तोकिएकै मितिमा शान्तिपूर्ण र उत्साहजनक ढङ्गले सम्पन्न गरेकोमा सम्पूर्ण राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुप्रति आभार पनि व्यक्त गरे ।
निर्वाचन आयोगले आइतबार मनोनयन गरेका उम्मेदवारहरुलाई आगामी कार्तिक ८ गते निर्वाचन चिन्ह प्रदान गर्ने पनि स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले आयोगले स्वीकृत गरेको कार्यक्रम अनुसार उम्मेदवार विरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न गरी कार्तिक ८ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने जानकारी पनि दिए । ‘उम्मेदवार विरुद्ध उजुरी दिने, जाँचबुझ छानबिन गर्ने र उम्मेदवारी फिर्ता लिने कार्य पश्चात् कार्तिक ८ गते निर्वाचन चिन्ह प्रदान गरिनेछ ।’ उनले भने ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुकूलको व्यवहार गर्न/गराउन पनि सरकार, राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई आह्वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउन सबैको साथ रहने विश्वास पनि व्यक्त गरे । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्वाचन प्रचार प्रचारका क्रममा निर्वाचन चिन्ह अंकित टोपी, टिसर्ट, गम्छाजस्ता सांकेतिक सामग्रीहरू उत्पादन, विक्री वितरण र प्रयोगमा कडाईका साथ रोक लगाउन पनि सम्बन्धित पदाधिकारीहरुलाई सचेत गराईसकेको छ ।
आगामी मङ्सिर १० गते पहिलो चरणमा प्रदेश सभा र प्रतिनिधि निर्वाचन ३२ वटा जिल्लामा हुँदैछ । निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ ३७ र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने पहिलो चरणको निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउन सबैले सहयोग गर्ने विश्वास पनि व्यक्त गरेको छ । प्रदेश सभा र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचन भने मङ्सिर २१ गते हुनेछ ।
“