स्नातक पढेका हरिबाबु म्यादी प्रहरीको लाइनमा

“
असाेज ३१, भरतपुर । प्रतिनिधि र प्रदेश सभाको चुनावको सुरक्षाको लागि सरकारले म्यादी प्रहरी मागेपछि यसमा भर्ना हुनको लागि सयौँ पढे लेखेका युवाहरू पनि लाइनमा बसेका छन् ।
देशमा बढ्दो बेरोजगारीको अवस्थाले सोमबार अन्तिम दिन पनि सयौँ युवाहरू जिल्ला प्रहरी कार्यालय भरतपुर अगाडिको खुला चौरमा म्यादी प्रहरीको लागि फाराम भर्नमा व्यस्त देखिन्थे । आवेदन बुझाउने लाइनमा बसेका थिए स्नातकसम्मको अध्ययन गरेका हरिबाबु कमली पनि । उनको घर भरतपुर–११ बसेनीमा रहेको छ । उनले सरस्वती बहुमुखी क्याम्पस काठमाडौँबाट स्नातक तहको पढाइ सकेका हुन् । स्नातक पढाइ पूरा गरेर पनि म्यादी प्रहरीमा जागिर खान आउनुभएको छ त ? प्रश्न भुइँमा खस्न नपाउँदै उनले भने, ‘बेरोजगारी भएरै म्यादी प्रहरीमा जागिर खान आएको हुँ । के गर्ने ? देशमा रोजगारी छैन ।’
कमली यति बेला ४८ वर्ष पूरा भएका छन् । झन्डै १५ वर्ष पहिले नै उनले स्नातक तहको पढाइ सकेका हुन् । तर पनि उनले कुनै ठाउँमा रोजगारी पाएनन् । उनी भन्छन्, ‘उसबेला स्नातकसम्मको पढाइ सके पनि जागिर पाउन सकिन, त्यसपछि विदेश भासिएँ ।’ उनले ५ वर्ष त कतारको चर्को गर्मीमा पसिना बगाएका थिए ।
विदेशको कमाइले जसोतसो घर परिवार पाल्न सकेको उनी बताउँछन् । उनको दुई छोरी र एक छोरा छन् । जेठी छोरी कक्षा १० मा पढ्छिन् । अर्की छोरी कक्षा ६ मा पढ्छिन् । कान्छो छोरो कक्षा ३ मा छ । उनी कतारको गर्मी छोडेर स्वदेशमै केही गर्ने आँट राखी नेपाल फर्केको पनि आठ महिना पूरा भएको छ । कमली भन्छन्, ‘स्वदेशमै केही गर्छु भन्ने सोच्दासोच्दै आठ महिना बित्यो, जागिर पनि खोजें कतै परिवार पाल्न सक्नेसम्मको जागिर पाइनँ ।’ केही गर्ने सोच्दासोच्दै म्यादी प्रहरीको लागि जागिर खुलेको थाहा पाएर आफू आएको उनले बताए । उनी थप्छन्, ‘अहिले युवाहरुसँगै ५५ दिनको जागिर खाने आसमा लाइनमा बसिरहेको छु ।’
म्यादी प्रहरीमा उनलाई जागिर मिल्यो भने ५५ दिन उनी जागिरे हुन्छन् । त्यसपछि फेरि उनलाई के गर्ने भन्ने कुराले सताउँछ । उनी अब विदेश जाने सुरसारमा छैनन् । स्वदेशमै केही गर्ने कसरतमा लागेका छन् । उनी भन्छन्, ‘म्यादी प्रहरीमा जागिर मिल्यो भने, सानोतिनो व्यापार गर्छु होला । नमिले पनि अरू कुनै काम गर्ने योजना बनाउनेछु ।’
जिल्ला प्रहरी कार्यालय अगाडिको खुला चौरमा लामो लाइनमा बसेर ठेलमठेल गर्दै उनले म्यादी प्रहरीको लागि आवेदन दिएका छन् । उनलाई आफू सफल बन्ने विश्वास लागेको छ । उनले भने, ‘म सबै कुरामा सक्षम र सबल छु, आशा छ म म्यादी प्रहरीको लागि छानिन्छु ।’
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सुरक्षाको लागि गत मङ्गलवारबाट सोमबारसम्म सयौँ युवाहरूले देशभर जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको आवेदन दिएका छन् । चितवनमा पनि सयौँ युवाहरूले म्यादी प्रहरीमा आवेदन दिएका छन् । गत मङ्गलवारदेखि सोमबारसम्म चितवनमा करिब ४ हजार युवाहरूले म्यादी प्रहरीमा आवेदन दिएका छन् ।
म्यादी प्रहरीमा दरखास्त भर्नेहरुलाई कात्तिक १ गते सम्पर्क मिति तोकिएको जिल्ला प्रहरी कार्यालय भरतपुरका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । कार्तिक ५ देखि ८ गतेसम्म छनौटको समय हुनेछ । कार्तिक १० गते अन्तिम नतिजा प्रकाशन हुनेछ । कार्तिक १२ देखि २४ गतेसम्म छनौट भएका म्यादी प्रहरीलाई तालिम दिइने छ ।
“








