विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल हङकङसँग ८३ रनले पराजित

असाेज २७, काठमाडाैं । नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँग भएकाे खेलमा ८३ रनले पराजित भएको छ । टस हारेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो । १९५ रनको लक्ष्य पाएको नेपाल ३४ ओभर ५ बलमा १११ रनमै सबै विकेट गुमाउन पुग्याे । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए ।

त्यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाउँदै पेभेलियन फर्किए । भने, आरिफ शेख २३, विनोद भण्डारी १८, सोमपाल कामी ११ र सागर पुन र दीपेन्द्रसिंह ऐरी ३/३ रनमा आउट भए । सुशन भारीले १ रन बनाए भने वसन्त रेग्मी र करण केसीले खाता खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङका एहसान खानले सर्वाधिक ५ विकेट लिए । ५ ओभर ५ बल बलिङ गरेका उनले १७ रन मात्र दिएका थिए । त्यस्तै, ऐजाज खानले ३, तनवीर अफजल र के क्रिस्टीले १/१ विकेट लिए ।

यस अघि हङकङका लागि जेके एटकिन्सनले सर्वाधिक ७६ रनको योगदान दिए । त्यस्तै तनविर अफजल ३८, बाबर हायात २९ रन, एहसान नवाज १६, निजाकत खान १२, वकास खान १४ रनमा पेभेलियन फर्केका थिए । बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले १० ओभरमा ४८ रन खर्चँदै ३ विकेट लिए । त्यस्तै करण केसी तथा वसन्त रेग्मीले दुई–दुई विकेट र सुशन भारीले एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *