तस्करीको सुन लुकाएका कारण हत्या !

काठमाडौं, असोज २७ । सुन लुकाएको आरोपमा तस्करीमा संलग्न भरियाको हत्या गरिएको खुलासा भएको छ । झण्डै दुई साताअघि नागार्जुन नगरपालिका–३ मा फेला परेको शवको अनुसन्धानमा जुटेको प्रहरीले सुन तस्करी प्रकरणमा हत्या भएको तथ्य फेला पारेको हो ।

रसुवा पार्वतीकुृण्ड नगरपालिका–३ का गगन लामाको शव १६ असोजमा फेला परेको थियो । उनको दाहिने पट्टी ढाडमा छुरी प्रहार गरिएको थियो ।

धारिलो हतियार प्रयोग गरी भएको गगनको हत्याको सम्बन्ध रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याइएको १८ केजी अवैध सुनको ओसारपसार प्रकरणसँग जोडिएको प्रहरीको भनाइ छ ।

गत असार २ मा चाइनिज नागरिक वोई र तेन्जिङले रसुवा गोसाईकुण्ड गाउँपालिका १ का लाक्पा ग्यालजेन तामाङलाई १८ केजी सुन काठमाडौं पुऱ्याउने जिम्मा दिएका थिए । ग्यालजेनले आफूले पाएको जिम्मेवारी फूपुको छोरा किर्ती भन्ने छिरिङ तामाङ, लिङजो भन्ने पासाङ तामाङ र गगन लामालाई सुम्पेका थिए ।

सुन लिएर काठमाडौं आएका तीनैजना असार ५ देखि सम्पर्क बाहिर रहे । सुनधनीले आफूले पठाएको सुन काठमाडौंमा बुझ्ने जिम्मा पाएका व्यक्तिको हातमा नपरेको थाहा पाएपछि तीनैजनाको खोजी जारी राखे । ६ असारमा कीर्ति भन्ने छिरिङ लाक्पाको सम्पर्कमा आए । छिरिङले सबै १८ केजी सुन नै गगनले बोकेर हिँडेको बताएपछि सुनको खोजीमा ठूलो समूह नै परिचालन भयो ।

गगन कहाँ छन् भन्नेबारे उनीसँग नजिकको सम्बन्ध राख्ने रसुवा डाँडा गाउँकी सविना तामाङसँग भएको भएको पत्तो लाग्यो । छिरिङ र लिङजोले सविनामार्फत गगन काठमाडौं रहेको पत्तो लगाए ।

उनीहरुकै योजनाअनुसार सविनाले १४ असारमा गगनलाई फोन गरी आफू रसुवाबाट काठमाडौं आउन लागेको र बसपार्कमा लिन आउनु भनिन् । गगन सबिनालाई लिन वनस्थली पुगे । त्यतिबेलासम्म सविनाको साथमा लिङजो, छिरिङ र उनका साथीहरु डेभिड भन्ने आङबाबु तामाङ, प्रकाश शाक्यसमेत थिए ।

प्रहरीका अनुसार त्यही समूहले फोल्डिङ छुरामार्फत गगनलाई दुई पटक प्रहार गरेको देखिन्छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *