यी क्षेत्रका कारण लोकतान्त्रिक र वाम गठबन्धनमा देखिदै छ समस्या

“
असाेज २६, काठमाडाैं । एकीकृत राप्रपा (राष्ट्रवादी) को नुवाकोट जिल्ला समितिले जिल्लाबाट प्रतिनिधि सभाका लागि नुवाकोटका दुवै क्षेत्रबाट अध्यक्ष प्रकाशचन्द्र लोहनीको नाम सिफारिस ग¥यो । सोमबारको बैठकले लोहनीलाई जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको मात्र होइन, समानुपातिक तर्फसमेत उम्मेदवारका रूपमा सिफारिस गरेको छ । प्रत्यक्षतर्फबाट मात्र होइन, समानुपातिकतर्फबाट समेत लोहनीको नाम सिफारिस हुनुको मुख्य कारण के हो ।
नयाँ क्षेत्र निर्धारणपछि तीन सिट रहेको नुवाकोटमा दुईमात्र सिट कायम गरिएकाे छ । लोहनी नेतृत्वको राप्रपा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सामेल छ । तर, जिल्लामा सकस के छ भने, नेपाली काँग्रेस अन्य पार्टीलाई जिल्लाका कुनै पनि क्षेत्र छाड्न सक्ने स्थितिमा छैन । जिल्लामा दुई शीर्ष नेताहरू रामशरण महत र अर्जुननरसिंह केसी रहेकाले लोकतान्त्रिक गठबन्धनमा सामेल अरू दल त के, काँग्रेसकै अन्य नेताले समेत टिकटका लागि चियाउने स्थिति समेत छैन ।
सिट बाँडफाँटको यस्तै सकस लोकतान्त्रिक गठबन्धनलाई परिरहेको छ । यो समस्याबाट काँग्रेस नेतृत्वको गठबन्धनमात्र होइन, एमाले–माओवादी केन्द्रको गठबन्धनपनि उत्तिकै समस्यामा परिरहेको छ । एमाले–माओवादी गठबन्धनबीच बाँडफाँटको यस्तै सकसले गर्दा नौ दिन बितिसक्दासमेत बाँडफाँड टुङ्ग्याउन सकेकाे छैन । एउटै जिल्लामा गठबन्धनका दुई वा दुई भन्दा बढी दावेदार नेता भइदिँदा बाँडफाँटको सकस थपिएको छ ।
नुवाकोटमात्र होइन, लोकतान्त्रिक गठबन्धनलाई पूर्वको झापादेखि पश्चिमसम्म समस्याले गुज्रिरहेकाे छ । गठबन्धनमा कमल थापा नेतृत्वको राप्रपा पनि सामेल छ । राप्रपाले गठबन्धनमा झापा ३ लाई निकै प्रतिष्ठाको विषय बनाएको छ, जहाँ महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धा गर्न चाहन्छन् । काँग्रेसका लागि पनि यो क्षेत्र उत्तिकै प्रतिष्ठाको विषय बनेको छ । किनभने यही क्षेत्रमा काँग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले पनि प्रतिस्पर्धा गर्ने योजना बनाइरहेका छन् ।
सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी सामेल लोकतान्त्रिक गठबन्धनका लागि मोरङमा सिट बाँडफाँट पनि उत्तिकै जटिल छ । मोरङ ५ बाट अध्यक्ष उपेन्द्र यादवको नाम जिल्ला समितिले सिफारिस गरेको छ । तर, गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसका नेताद्धय शेखर कोइराला र मिनेन्द्र रिजालमध्ये एक जना यहीँबाट प्रतिस्पर्धा गर्न चाहन्छन् । यादवले यही क्षेत्र दाबी गरिदिए भने काँग्रेस अप्ठेरोमा पर्नेछ ।
मोरङ– ५ मात्र होइन, यादवको नाम सिरहा १ बाट पनि सिफारिस भएको छ । मधेस आन्दोलन सुरुवातको केन्द्रस्थल पर्ने यसै निर्वाचन क्षेत्र अन्तर्गतको लाहान नगरपालिकामा स्थानीय तहको निर्वाचनमा फोरमलाई पराजित गर्दै एमालेका मुनि साह मेयर विजयी भएपछि फोरम त्यो क्षेत्र जित्नै पर्ने दबाबमा छ । त्यसैले, फोरम जिल्ला समितिले अध्यक्ष यादवको नाम सिफारिस गरेको हो । तर, यही निर्वाचन क्षेत्रबाट काँग्रेस नेता पदमनारायण चौधरी पनि प्रतिस्पर्धा गर्न चाहन्छन्, जसले २०७० को निर्वाचनमा पनि यही क्षेत्रबाट विजय हासिल गरेका थिए । फोरमसँग गठबन्धन नै गर्ने हो भने, काँग्रेसले मोरङ– ५ कि सिराहा १ यादवका लागि छाडिदिनु पर्ने हुन्छ । तर, दुवै क्षेत्रमा काँग्रेसका ओजनदार नेताहरू दावेदार भएकाले काँग्रेस अप्ठेरोमा छ । २०६४ र ७० को निर्वाचन जितेको सुनसरीमा यादव त्यति आकर्षित देखिएका छैनन् ।
यस्तै, समस्या सर्लाही ५ मा पनि पर्न सक्छ, जुन राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरको हो । दुवै संविधान सभा निर्वाचनमा पराजित ठाकुरको नाम यस पटक महोत्तरीबाट पनि प्रस्तावित भएको छ । तर, फोरमसँग तालमेल हुँदा यस पटक सर्लाहीबाटै जित्न सकिने आशामा ठाकुर छन् । ठाकुरलाई यो क्षेत्र छाडिदिन फोरमपनि तयार हुनसक्छ । तर, पछिल्लो निर्वाचनमा ठाकुरलाई पराजित गरेका अमरेशकुमार सिंहको व्यवस्थापन काँग्रेसका लागि अप्ठेरो विषय हुनसक्छ ।
एमाले–माओवादी केन्द्रबीच चुनावी गठबन्धन र एकता हुने निर्णयसँगै माओवादी केन्द्रका नेता गोपाल किराँतीले पार्टीबाट विद्रोह र नयाँ पार्टी पुनर्गठनको घोषणा गरे ।किराँती पार्टीभित्र सैद्धान्तिक मुद्दा उठाउने नेताका रूपमा चिनिन्छन् । विद्रोहको कारण उनले समावेशिता र पहिचानको मुद्दाप्रति एमाले नकरात्मक हुनुलाई बनाए । तर, उत्तिकै महत्त्वपूर्ण कारण किराँतीलाई माओवादी केन्द्रले प्रदेश १ को मुख्यमन्त्रीका रूपमा अघि सार्नु र एकता हुँदा त्यो सम्भावना गुम्नु पनि थियो ।
विद्रोहको योजना त्यागेर समावेशिता र पहिचानको मुद्दामा सङ्घर्ष गर्ने निर्णयमा पुगिसकेका छन् किराँती । त्यसैले, किराँतीको व्यवस्थापन गर्नु अब असहज छैन । सम्भवतः एमाले नेताहरू पनि किराँतीका लागि प्रतिनिधि सभा वा प्रदेश सभामा किराँतीलाई कुर्न आकर्षक क्षेत्र दिन तयार छन् । तर, झापा बाहेक यस्ता निर्वाचन क्षेत्रपनि छन्, जहाँ नेताहरुबीचको प्रतिद्धन्दिताका कारण एमाले–माओवादी केन्द्र दुवैलाई सिट बाँडफाँडमा समस्या देखिएको छ ।
गोर्खा– २ का लागि माओवादी केन्द्र–नयाँशक्तिबीचको छिनाझपटी एउटा उदाहरण हो, जुन दुवै दलका लागि प्रतिष्ठाको विषय बनेको छ । गोर्खा २ नपाए गठबन्धनबाटै बाहिरिने चेतावनी भट्टराईले एमाले र माओवादी केन्द्रलाई दिएका छन् । गोर्खा २ को विकल्प त नेताहरूले खोज्लान् । तर, गठबन्धन निरन्तर राख्ने हो भने त्यसबाहेक १५ सिट आफूले पाउनुपर्ने दाबी भट्टराईले गरिरहेका छन् । भट्टराईको नयाँशक्तिका लागि कुन कुन १५ निर्वाचन क्षेत्र दिने हो, एमाले र माओवादी केन्द्रका नेताहरू अप्ठेरोमा परेका छन् ।
एमाले र माओवादी केन्द्रका लागि चितवन पनि उत्तिकै समस्याको विषय बनेको छ । तीन निर्वाचन क्षेत्रमध्ये १ नम्बर निर्वाचन क्षेत्रमा एमाले नेता सुरेन्द्र पाण्डे उठ्दैछन् भने ३ नम्बर क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू उठ्ने घोषणा गरिसकेका छन् । बाँकी रहेको क्षेत्र नं २ को आशा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ ले गरेका छन् । त्यही निर्वाचन क्षेत्रमा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले पनि दाबी गरिरहेका छन् ।
एमाले र माओवादी केन्द्र दुवैलाई डर के कुरामा छ भने २०७० मा त्यही क्षेत्रबाट विजय हासिल गरेका पोखरेलले टिकट नपाउने हो भने त्यसको असर १ र ३ दुवै निर्वाचन क्षेत्रमा पर्न सक्छ । पोखरेल एमालेभित्रको गुटबन्दीमा माधव नेपाल पक्षधर नेता हुन् । पोखरेलका लागि नेता नेपालले पनि प्रतिष्ठाको विषय बनाइदिन सक्छन् । त्यसैले, एमाले–माओवादी केन्द्रबीचको गठबन्धनमा चितवन २ पनि उत्तिकै पेचिलो विषय बनेको छ ।
“








