रसिया विश्वकपमा को–को भए छनौट र कसकाे छ अझै सम्भावना ?

असाेज २५, काठमाडौँ । सन् २०१८ मा रसियामा हुने विश्वकपमा पछिल्लाे समय अर्जेन्टिना, पाेर्चुगल र पानामा लगायतका टाेलिले स्थान बनाएको छन् । रसिया विश्वकपमा अहिलेसम्म ३२ मध्ये २३ वटा टोलीले खेल्ने सुनिश्चित गरिसकेका छन् । तर, अब कुन–कुन टोलीको सम्भावना रहेको छ त ?

विश्वकपमा ३२ टोलीले भाग लिने गर्छन् । आयोजकका रूपमा रसिया पहिलेनै छनौट भएपछि बाँकी ३१ स्थानका लागि छनौट खेलहरू भएका छन् । यसअघि डिफेन्डिङ च्याम्पियन सोझै छनौट हुने गरेकोमा अब त्यस्तो अवस्था नरहे पनि जर्मनीले युरोपबाट समूह सीको विजेता बन्दै विश्वकपमा स्थान बनाएको छ ।

अन्य २१ टोलीमा ब्राजिल, इरान, जापान, मेक्सिको, कोस्टारिका, बेल्जियम, साउदी अरेबिया, दक्षिण कोरिया, स्पेन, इंग्ल्याण्ड, नाइजेरिया, पोल्याण्ड, इजिप्ट, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया र पानामा रहेका छन् ।

युरोपबाट आयोजकसहित १४ स्थान रहेकोमा १० टोली छनौट भइसकेका छन् । जसमा रसिया, बेल्जियम, जर्मनी, इंग्ल्याण्ड, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, पोर्चुगल र फ्रान्स छन् । छनाेट चरणमा स्लोभाकिया सबैभन्दा अभागी टाेलि रह्यो । इंग्ल्याण्डपछि समूह उपविजेता बने पनि ९ उपविजेता मध्ये सबैभन्दा कमजोर भएपछि प्लेअफ खेल्न पाएन । अब आठ टोलीले बाँकी चार स्थानका लागि प्लेअफ खेल्नेछन् ।

यसमा स्वीटजरल्याण्ड, इटाली, डेनमार्क, क्रोएसिया, उत्तरी आयरल्याण्ड, रिपब्लिक अफ आयरल्याण्ड, स्वीडेन र ग्रीस रहेका छन् । चार टोली यो महिनाको फिफा बरियाताको आधारमा सिड मिलाइनेछ । यसमध्ये उत्तरी आयरल्याण्ड र रिपब्लिक अफ आयरल्याण्डको खेल हुनेछैन ।

मुख्य मितिहरु :

१७ अक्टोबरमा युरोपको प्लेअफको ड्र गरिने छ भने ९ देखि ११ नोभेम्बरमा पहिलो लेग तथा १२ देखि १४ मा दोस्रो लेग खेलाइनेछ । डिसेम्बर १ मा समूहहरू विभाजन हुनेछन् भने १४ जुन देखि १५ जुलाई २०१८ सम्म विश्वकप हुनेछन् ।

दक्षिण अमेरिका
एक प्लेअफसहित ५ स्थान रहेको दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, कोलम्बिया र अर्जेन्टिना छनौट भएका छन् । मङ्गलवार भएको नाटकीय छनौट खेलपछि पेरु चिलीभन्दा अघि रहँदै प्लेअफका लागि छनौट भएको छ । पेरुले विश्वकपमा स्थान बनाउनका लागि न्युजिल्याण्डसँग भिड्नेछ ।

कोनकाकाफ
यसमा उत्तर अमेरिकी, मध्य अमेरिकी र क्यारेबियन देशहरू रहेका छन् । उनीहरूका लागि ३ स्थान र एक प्लेअफ स्थान राखिएको छ । यहाँबाट मेक्सिको, कोस्टारिका र पानामा छनौट भएका छन् । अमेरिकालाई पछि पार्दै होन्डुरसले प्लेअफका लागि स्थान बनाएको छ । अब होन्डुरसले प्लेअफमा अस्ट्रेलियाको सामाना गर्नेछ ।

एसिया
एसियाबाट चार स्थान र एक प्लेअफ रहेकोमा इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया छनौट भइसकेका छन् । सिरियालाई पराजित गर्दै अस्ट्रेलियाले प्लेअफमा आफ्नो स्थान बनाएको छ ।

अफ्रिका
अफ्रिकाका लागि ५ स्थान सुरक्षित रहेकोमा नाइजेरिया र इजिप्ट छनौट भइसकेका छन् । यहाँ प्लअ‍ेफको व्यवस्था छैन । हालसम्म पाँच समूह मध्ये बाँकी समूहमा ट्युनिसिया, मोरोक्को र सेनेगल समूहको शीर्ष स्थानमा रहेका छन् ।

ओसियाना
न्युजिल्याण्डले सोलोमोन आइल्याण्डलाई पराजित गर्दै अन्तरमहादेशीय प्लेअफमा स्थान बनाएको छ । अब नोभेम्बरमा पेरुको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *