पाँच जनाबाट सुरु भएको डेंगु अहिले ९८ जनामा

गौशाला, २५ असोज । महोत्तरी जिल्लाको बर्दिबासमा पाँचजनाबाट सुरु भएको डेंगु रोग अहिले ९८ जनामा पुगेको छ । उक्त कुरा जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले जानकारी दिएका हुन् ।

अघिल्लो सोमबार बर्दिबास अस्पतालमा १२ जनालाई परीक्षण गरिएकोमा पाँचजनामा फेला परेको डेंगु रोग अहिले बर्दिबासका ९८ जनामा देखापरिसकेको अस्पतालले जनाएको छ । ती मध्ये ८० जना महोत्तरीका र अन्य १८ जना सिन्धुली, सर्लाही र धनुषाका रहेका छन् ।

यसरी दुई साताअघि पाँचजनाबाट सुरु भएको डेंगु रोग १०० जना करिब पुग्न लागेको र महामारीकै रूप लिन लागेको देखेर स्थानीय भयभित एवं त्रसित भएका छन् । यसैबिच, बर्दिबास अस्पतालमा डेंगु रोग परीक्षणका लागि किटको समेत अभाव भएपछि स्थानीयमा थप डर पैदा भएको छ ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलकै गृहनगर बर्दिबासमा यसरी दर्जनौँ व्यक्ति डेंगु रोगको संक्रमणमा परेको र दिनानुदिन डेंगु रोगीको सङ्ख्या बढ्दै गएको देखेर सम्पूर्ण जिल्लावासीमै यो त्रास बढ्दै गएको छ ।

यता जिल्ला स्वास्थ्य कार्यालय र बर्दिबास इलाका प्रशासन कार्यालय, बर्दिबास नगरपालिका तथा स्थानीय नेपाली सेना र नेपाल प्रहरीको पहलमा बर्दिबासमा डेंगु रोगको संक्रमण फैलिन नदिन तथा यसको रोकथामका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नुका साथै सो रोगको कीटाणु र लार्भा मार्न औषधिसमेत छर्किने कार्य निरन्तर गरिँदै आएको जिल्ला स्वास्थ्य कार्यालय, जलेश्वरले जनाएको छ ।

तर, अझै पनि बर्दिबासमा डेंगु रोगको संक्रमण नियन्त्रणमा नआएर दिनानुदिन बढ्दै गएको देखेर स्थानीयलगायतका सम्पूर्ण जिल्लावासीमा चिन्ता बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *