दुखियाको हाँसोमा ईश्वरको बास, छठ आउँदै गर्दा डोम समुदाय खुसी

“
सञ्जीतकुमार मण्डल, गौशाला । भनिन्छ, दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ । यही भनार्इलार्इ चरितार्थ गरेको छन् डालो, नाङ्लो र टालु टपरी बनाउन जुटेका महोत्तरीका विपन्न डोम समुदायले ।
सुँगुर डो¥याएर वर्षैभरि गाउँ–गाउँ चहार्ने महोत्तरीका डोम समुदायलाई अहिले तराईवासीको महान् पर्व छठ नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टालु टपरी बनाउन भ्याईनभ्याई भएको छ ।
गाँस, बास र कपासकै जोरजाममा पिँढी दर पिँढीलाई हम्मेहम्मे पर्ने गरेका डोमहरुले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त हुने महोत्तरी जिल्लाका लोहारपट्टि नगरपालिकाका ७२ वर्षीय बिसुनिया डोमले बताउनुभयो ।
गाउँ र सहरमा हुने भोज भतेरबाट जुठोसमेत ल्याएर स–परिवार खाने गरेका डोमले कात्तिकमा नानाथरिका परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ७५ वर्षीया जिबछी डोमिनले बताउनुभयो ।
डालो बुन्दै गरेकी जिल्लाको भरतपुर गाविसकी ६५ वर्षीया सखिया डोमिनले गहभरि आँसु पारेर भन्नुभयो, “मालिक ! कात्तिक लाग्ने बित्तिकै घरका बच्चादेखि बुढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालु टपरी बनाउनमा तल्लिन हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निकै खुसी हुन्छौँ ।” तर वर्षभरि काम नपाउनाले फेरि केही दिनपछि दुःख सुरु भइहाल्छ ।
छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाट बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच सात वटा बाँसबाट बनेका भाँडाकुँडा किन्नुपर्छ ।
छठ पर्वको आगमनसँगै डोमका घर आँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वासपूर्ण कुरा बताउँदै मनरा नगरपालिकाका ४० वर्षीय शङ्कर डोमले आफूहरूले सोही कारण दिनरात व्रतालुका निम्ति बाँसका भाँडा बनाउने गरेको सुनाउनुभयो ।
त्यस्तै, जिल्ला सदरमुकाम जलेश्वरका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर कात्तिकभरिमा वर्षभरिकै सबै कर्जा ऋण चुक्ता गरेर आउने छ महिनाको खर्चपर्चको जोहो गर्ने जति कमाइ हुने गरेको बताउनुभयो ।
त्यसै गरी, जिल्लाको भंगहा नगरपालिकाका सुरिन्दर डोमले घरका बालकदेखि बुढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु १५ हजार देखि रु २० हजार र प्रत्येक परिवारले रु दुई लाखको हाराहारीमा आम्दानी गर्ने गरेको बताउनुभयो ।
अहिले जिल्लाका गाउँ गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैले बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् ।
दिनदिनै छठ पर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि नै भ्याईनभ्याई भएको छ । रासस
“








