कपिलवस्तुमा राजदूत उपाध्याय उदाउँदै !

जितपुर (कपिलवस्तु)असोज २३ । आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख तीन दलले उम्मेदवार छानेका छन् ।

तीन वटा प्रतिनिधि सभा र छ वटा प्रदेश सभा क्षेत्र रहेको यस जिल्लामा लामो कसरतपछि तीन ठूला दलले उम्मेदवारको नाम टुंगो लगाएका हुन् ।

नेपाली काँग्रेसबाट यसै हप्ता मात्रै भारतका लागि नेपाली राजदूतबाट राजीनामा दिएका दीपकुमार उपाध्यायसहित सांसद अतहर कमाल तथा पूर्व मन्त्री कमलेश शर्माको नाम प्रतिनिधि सभा क्षेत्र नं १ को लागि सिफारिस गरिएको छ ।

यसैगरी क्षेत्र नं २ बाट पार्टी सभापति एवं सांसद सुरेन्द्रराज आचार्यको एकल नाम सिफारिस गरिएको छ । त्यसैगरी क्षेत्र नं ३ बाट हालै संघीय समाजवादी फोरम परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका सांसद अभिषेकप्रताव शाहको नाम सिफारिस गरिएको सभापति सुरेन्द्रराज आचार्यले जानकारी दिए ।

नेपाली काँग्रेसले प्रतिनिधि सभा समानुपातिकका लागि १५ जना र प्रदेशका लागि ६० जनाको नाम पठाएको छ ।

नेकपा (एमाले)बाट एमाले क्षेत्र नं १ बाट विष्णु पन्थी, सांसद बलराम अधिकारी, शारदा पोख्रल र हीरालाल पौडेलको नाम सिफारिस गरेको छ । त्यस्तै, २ बाट सूर्य चिह्न लिएर चुनाव लड्ने सहमति गरेका सांसद वृजेशकुमार गुप्ताको एकल नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं ३ बाट महादेव पोख्रेल, क्षेत्रबहादुर खत्री, निशा विक, सुशीला खनाल, अहमद अब्दुल रउफको नाम सिफारिस गरिएको एमाले उपाध्यक्ष बाबुराम खनालले जानकारी दिए । प्रतिनिधि सभाको समानुपातिकतर्फ नौ जना र प्रदेशतर्फ १९ जनाको नाम पठाएको एमालेले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र)ले १ बाट प्रतिनिधि सभामा हालका लेखा समिति सभापति डोरप्रसाद उपाध्यायको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ बाट गिरीधरीलाल न्यौपाने तथा जिल्ला सहइञ्चार्ज रुद्रलाल बन्जाडेको नाम सिफारिस गरेको छ ।

त्यस्तै क्षेत्र नं ३ बाट माओवादी स्थायी समिति सदस्य चन्द्रपाणी खनाल (बलदेव) र शिवप्रसाद जैसवालको नाम पठाएको माओवादी केन्द्रले जनाएको छ । प्रदेश सभामा विष्णु बेल्वासे, सन्तोषी पाण्डे, जावेद मुसलवानको मात्रै नाम टुंगो लागेको बताएको छ ।

स्रोतका अनुसार एमाले र माओवादीसहित नयाँशक्तिको समीकरणका कारण कुन क्षेत्रबाट को लड्ने भन्नेमा जिल्ला तहमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *