भवन बनाउने भन्दै अवैध असुली

सीताराम ओझा, धनगढी । कञ्चनपुरको पुर्नवास उद्योग वाणिज्य संघद्धारा डोकेबजारमा कर्मचारी राखेर अवैध असुली गरिरहेको छ । उद्योग वाणिज्य सङ्घको भवन निर्माणका लागि भन्दै डोकेबजार भएर जाने आउने सवारी साधनहरुबाट रकम असुली भइरहेको हो ।

तीन वर्ष अघि साविकको वाईसेविचुवा गाविसको सर्वपक्षीय बैठकले रकम उठाउन दिने सहमति भएको भए पनि त्यसपछि गाउँ परिषदमा अवैध असुली गर्न नदिने प्रस्ताव पारित भएको भए पनि उद्योग वाणिज्य सङ्घले अवैध असुली नरोकेको हो । कुनै पनि निकायसँग अनुमति नलिएर रकम उठाएको भन्दै स्थानीय वासिन्दाले शनिवार तीन थान ठेली, नगदी विलहरु प्रहरीलाई वुझाईएका छन् । कर्मचारीलाई रकम नउठाउन भन्दै सम्झाईएको र नगदी विलहरु प्रहरी चौकी पचकडीयामा वुझाईएको छ ।

विभिन्न सामानहरू ल्याउने र लैजाने सवारी साधन र सो क्षेत्रमा आवत जावत गर्ने यात्रुवहाक वसहरुवाट ५० र एक सय रुपैयाँ असुली भइरहेको स्थानीय सूर्य विकले बताउनुभयो । पुर्नवास उद्योग वाणिज्य सङ्घलाई तीन वर्ष अगाडी भवन वनाउनका लागि रकम असुल गर्नका लागि सर्वपक्षीय सहमति भएको थियो । तर, त्यसको चर्को विरोध भएपछि साविकको वाईसेविचुवा गाविसको गाउँ परिषदवाट रकम लिन नपाउने प्रस्ताव पारित भएको थियो । तर, उद्योग वाणिज्य सङ्घले रकम लिन नपाउने नितिगत रूपमा निर्णय हुँदा पनि अटेरी गर्दै रकम असुल गरिरहेको पुर्नवास नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तुलसी अर्यालले बताउनुभयो ।

सुरुमा गौरीफन्टा भन्सार नाकामै कर्मचारी राखेर रकम असुली रहेको पुर्नवास उद्योग वाणिज्य सङ्घले अवैध भएको भन्दै विरोध हुन थालेपछि हाल डोकेवजारको टिम्वर कर्पोरेशन नजिकैवाट रकम असुल गरिरहेको छ । अधिकांश ईटा भट्टा भएका कारण ईटा ढुवानी गर्ने, खाद्यान्न ल्याउने र यात्रुवहाक वसहरुवाट उद्योग वाणिज्य सङ्घले कर्मचारी राखेर गरिरहेको अवैध असुली नरोकिएपछि स्थानीय वासिन्दाले असुली गर्ने नगदी ठेलीहरु समातेर प्रहरीलाई वुझाएका छन् । सुरुवातमा सबैको सहमतिमा भवन निर्माणका लागि रकम लिने गरेको भए पनि त्यसपछि लिन नपाउने गरी भएको निर्णयको बारेमा जानकारी नभएको पुर्नवास उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

यता पुर्नवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण तामाङ भने जर्वजस्ती नभएर सहयोग स्वरूप रकम लिइरहेको बताउनुभयो । आफ्नै क्षेत्रमा भइरहेको अवैध असुली बारे पुर्नवास नगरपालिकाका पदाधिकारीहरू भने अनविज्ञ रहेका छन् । स्थानीय वासिन्दाले नगदी ठेली प्रहरीलाई वुझाएपछि यस बारेमा जानकारी पाएको पदाधिकारीहरू वताउँछन । अवैध असुली रोक्नका लागि उद्योग वाणिज्य सङ्घका पदाधिकारीलाई बोलाएर छलफल गर्ने पुर्नवास नगरपालिकाका मेयर जीवन थापाले बताउनुभयो । तीन वर्षदेखि भइरहेको अवैध असुली बारे पुर्नवास नगरपालिकाका स्थानीयलाई थाहा भए पनि उनीहरू सबैले तई चुप मई चुप भने झैँ गरेका थिए । तर त्यहाँ भएको एक फुटबल प्रतियोगिताको विवादले उद्योग वाणिज्य सङ्घको अवैध असुलीको बारेमा आवाजहरू उठेका हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *