एमाले धरानबाट चार उम्मेदवार सिफारिस

असोज २१, धरान । एमाले, माओवादी र नयाँ शक्ति बिच चुनावी तालमेल भइरहँदा सुनसरी १ धरानमा भने एमाले उम्मेदवार सिफारिस गरेको छ । भने, माओवादी केन्द्रले केन्द्रीय गठबन्धनको निर्णय पर्खेको छ ।

एमाले धरानले प्रतिनिधि सभा र प्रदेश सभाका लागि चार उम्मेद्वारको नाम सिफारिस गरेको छ । एमालेले सुनसरी १ प्रतिनिधि सभाका लागि प्रकाश राई, मोतिराज सुनुवार र जयकुमार राईको नाम सिफारिस गरेको छ । प्रदेश सभा क्षेत्रीय समन्वय समिति १ क को शुक्रवार बसेको बैठकले प्रतिनिधि सभाका लागि तीन उम्मेदवार सिफारिस गरेको हो ।

सुनसरी प्रदेश सभा १ क का लागि एमाले नगर इन्चार्ज प्रदीप भण्डारीलाई सिफारिस गरेको छ । सुनसरी १ क बाट प्रतिनिधि सभाका लागि दुई उम्मेदवार छनौट गर्नुपर्ने भए पनि शुक्रवारको बैठकले भण्डारीलाई सर्वसम्मत रूपमा सिफारिस गरेको प्रचार संयोजक राजमणी निरौलाले बताए ।

यस्तै क्षेत्र नं. १ ख अन्र्तगतको चतरा क्षेत्रको लागि भीम आचार्य लगायत अन्य ६ जनाको नाम सिफारिस गरिएको छ । सुनसरी १ क का लागि छनौट भएका मध्ये मोतीराज सुनुवार पार्टीका पूर्व जिल्ला सचिव भईसकेका ब्यक्ति हुन् । जयकुमार राई र प्रकाश राई भने सुनसरी जिल्ला सदस्य हुन् ।

माओवादी केन्द्रले भने सुनसरी १ क का लागि मुक्साहाङ मेन्याङ्वो, चोत्लुङ, अशोक राई लगायत ६ जनाको नाम चर्चामा आएको छ । पार्टीले एमाले र नयाँ शक्तिसँग चुनावी तालमेल गर्ने निर्णय गरेपछि केन्द्रीय निर्णय अनुसार नाम सिफारिस गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *