साउन महिनाको आर्थिक स्थितिः मूल्यवृद्धि २.३ प्रतिशत

काठमाडौं, असोज २० । चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो महिना साउनमा मूल्यवृद्धि न्यून रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा मूल्यवृृद्धि घटेको जनाइएको हो ।

२०७४ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७ प्रतिशत रहेकोमा २०७४ साउन महिनामा २.३ प्रतिशत कायम भएको जनाइएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८.६ प्रतिशत रहेको थियो ।

गत वर्षको आधार मूल्य उच्च रहेकाले समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति दर १.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत् कृषिजन्य वस्तुहरूको मूल्य सूचकांक ०.६ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकांक ३.८ प्रतिशत र आयातित वस्तुहरूको मूल्य सूचकांक ०.७ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकांक ९.६ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकांक ६ प्रतिशतले वृद्धि भएको थियो भने आयातित वस्तुहरूको मूल्य सूचकांक २.८ प्रतिशतले घटेको थियो ।

क्षेत्रगत आधारमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.६ प्रतिशत, तराईमा २.८ प्रतिशत, पहाडमा २.२ प्रतिशत र काठमाडौं उपत्यकामा १.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर १ दशमलव १ प्रतिशत रहेको छ ।

साउन महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.३ प्रतिशत र भारतको ३.४ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *