सगरमाथा बेसक्याम्पको रुटमा १३ वटा रिसोर्ट खुल्दै

“
काठमाडौँ, असोज १९। अब,सगरमाथा बेस क्याम्पको रुटमा १३ वटा हिमालयन चेन रिसोर्ट बन्ने पक्का भएको छ । एसियन ट्रेकिङको मुख्य लगानीको रिसोर्टमा विश्व बैङ्कको लगानीमा उक्त रिसोर्ट बन्न लागेको हो ।
१ अर्ब रुपैयाँ लगानीमा उक्त रिसोर्ट बनाउन लागिएको हो । यससँगै सो क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको हिमालयन चेन रिसोर्ट निर्माण अघि बढेको छ । मुख्य लगानीकर्ता रहेको एसियन ट्रेकिङले ६० प्रतिशत र विश्व बैङ्कले ४० प्रतिशत लगानी गर्ने भएका हुन् ।
त्यस्तै,सोलुखम्बुको फाग्दिम, खुम्जुङ, लबुचे र गोक्योमा निर्माण सम्पन्न भइसकेको र बाँकी स्थानमा निर्माण कार्य सुरु भएको नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्षसमेत रहेका एसियन ट्रेकिङका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाले बताएका छन् । सगरमाथा जाने रुटमा होटेल सञ्चालन नभएको होइन तर व्यवस्थित र आधुनिक होटलको अभावसँगै यसको परिकल्पना सहित रिसोर्टको प्रोजेक्ट अघि सारिएको उनले जानकारी गराए । ‘ठुलो लगानी भएको कारण विश्व बैङ्कसँग पनि सहकार्य गरेका हौँ । अब होटललाई विभिन्न तीन चरणमा निर्माण सम्पन्न गर्ने योजना बनाएका छौँ ।’ उनले भने ।
उनले जानकारी गराएअनुसार सोलुखम्बुको फाग्दिम, नाम्चे, खुम्जुङ पाङबुचे, धिङबुचे, लबुचे, गोक्यो, फाङ, मछाङ्मो, धोलेलगायतका ठाउँमा पनि ठाउँमा रिसोर्ट निर्माण हुने भएको छ ।
हाल विश्वको सर्वोच्च शिखर सगरमाथा आसपासमा पर्यटकलाई सेवा दिने दुई सयभन्दा बढी होटेल छन् । ता, यस क्षेत्रका होटेल व्यापारिक दृष्टिकोणले ६ महिनामात्रै चल्छन् । खुम्बु क्षेत्रका चौरीखर्क, नाम्चे, खुम्जुङजस्ता ट्रेकिङ रुटमा पनि पर्यटकीय होटेल सञ्चालनमा छन् । चौरीखर्कमा एक सय ७५, नाम्चेका एक सय १० र खुम्जुङमा ७४ होटेल, लज तथा अन्य पसल सञ्चालनमा छन् ।
“








