कांग्रेस अहिले थोत्रो मोटरसाइकलः ओली

असोज १८, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालसँग चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने सहमति गर्नु परेको बताएका छन् ।

अध्यक्ष ओलीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर एमाले नेतृत्वको सरकार बन्नबाट कसैले रोक्न नसक्ने चेतावनी पनि दिए । ओलीले एमालेको नेतृत्वमा बामपन्थी, लोकतनत्रवादी र देशभक्त शक्तिहरुले आगामी चुनावमा दुईतिहाई सिट जित्ने दावी गरे । ‘वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिको ध्रुवीकरणको आरम्भ गरिसकेका छौं प्रदेश सभा र प्रतिनिधी सभामा दुई तिहाई बहुमत ल्याएर देखाई दिन्छौं’ ओलीले भने–‘एमालेकै नेतृत्वमा सवै एकै ठाउँ आउँछन्, एमालेकै नेतृत्वमा दुई तिहाई बहुमत ल्याउँछौं ।’

बुधबार ललितपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राष्ट्रहित विरोधी तत्वलाई संसदमा प्रवेश गर्न नदिन पनि माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालसँग एकीकरण गरेर अघि बढने सहमति भएको पनि उल्लेख गरे । अध्यक्ष ओलीले स्वाभिमानका साथ मुलुकलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन काँग्रेस कार्यकर्तालाई पनि आह्वान गर्दै ‘अब कांग्रेसका एक दुई परिवारलाई पोस्न तोकतन्त्रप्रति आस्था राखेका जनताले कांग्रेसलाई भोट हाल्दैनन् ।’ भने ।

अध्यक्ष ओलीले काँग्रेससँग इतिहासमात्रै बाँकि रहेको दावी पनि गर्दै राणा र राजतन्त्र इतिहास बनिसकेको र इतिहास बन्ने पालो काँग्रेसको आएको जिकिर गरे । अध्यक्ष ओलीले काँगे्रेस नेतृत्वले सत्ता र शुभलाभ बाहेक अरु केही पनि देख्ने नगरेको आरोप लगाउँदै उनले भने–‘निश्चित समयपछि कुनै पनि दलको उपादेयता सकिन्छ, ०४६ सालको जनआन्दोलनको नेतृत्व गर्नुभएका गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले उपादेयता सकिएको बुझेरै कांग्रेस छोड्नुभयो । कांग्रेस अहिले थोत्रो मोटरसाइकल जस्तो भएको छ । नेपाली जनताले मोटरसाइकलको टायर फेरे, ट्युब टाले, मर्मतसमेत गरे । अब त कामै लाग्न छाड्यो, कवाडीमा पनि नबिक्ने भयो कांग्रेस ।’ उनले कार्यकर्तालाई सम्वोधन गर्दै भने ।

कांग्रेससँग वर्तमान समयलाई हाँक्ने कुनै दृष्टिकोण नभएकाले उसले इतिहासको मात्र चर्चा गर्नेगरेको उदाहरण दिंदै ओलीले अव सात सालको क्रान्तिको ब्याज खान नसक्ने दावि गरे । ‘इतिहासको कुरा गर्छ कांग्रेस, इतिहास राणाहरूको पनि थियो, राजाहरूको पनि नभएको होइन, इतिहास छ भन्दैमा सधैँ खान पाइँदैन । सात सालको क्रान्तिमा उसको इतिहास बनेको थियो, ०४६ सालको क्रान्तिमा बामपन्थीको दवावले लतारिएर आएको हो’ ओलीले भने ।

कार्यक्रममा ललितपुरका विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =