लोकतान्त्रिक मोर्चा गठन गर्न काँग्रेसको छलफल शुरु

काठमाडौँ, १८ असोज (रासस) : नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बृहद् लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा छलफल शुरु गरेको छ ।

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा यस विषयमा छलफल भइरहेको नेता बिमलेन्द्र निधिले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्यको सहभागिता छ ।


लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम नेपाललगायत दलसँग आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गरिनेसमेत उहाँले बताउनुभयो ।

दिउँसो २ बजे केही समयका लागि स्थगित गरिएको बैठक फेरि बस्ने जानकारी गराइएको छ ।

मंगलबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीच प्रदेश र संघीय संसद्मा चुनावी तालमेल गर्ने घोषणा भएपछि संसद्को ठूलो दल काँग्रेसले पनि लोकतान्त्रिक गठबन्धन गर्ने गरी छलफल शुरु गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *