एमाले र माओवादी केन्द्रबीच आज पनि छलफल

काठमाडौं, असोज १७ । पार्टी एकता र सहकार्यमा लागेका प्रमुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्रबीच आज पनि छलफल हुने भएको छ । पार्टी एकता र चुनावमा सहकार्य गरी दुई प्रस्तावमा आज छलफल हुनेछ । शीर्ष तहका नेताहरुबीच हिजो भएको सहमतिको आधारमा आज कार्यदल बनाएर अघि बढ्ने गरि सहमति हुने एमालेका एक नेताले जानकारी दिनुभयो ।

दुवै पार्टीका अध्यक्षसहितको सात जनाको कार्यदल बनाएर एकताको प्रक्रिया सुरु गर्ने तयारी भइरहेको ती नेताले जानकारी दिए । तीन दिनयता शीर्ष तहमा चुनावी तालमेलदेखि पार्टी एकताका विषयमा केन्द्रित छलफलपछि दुवै पार्टी एकताकै तहमा पुगेका हुन् । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आजदेखि निरन्तर छलफल हुने र केहीदिनमा निस्कर्षमा पुग्ने जानकारी दिनुभयो ।

एमाले उपाध्यक्ष भीम रावलले पनि अबको तीन दिनमा सबै टुङ्गो लगाउने गरि सहमतिको प्रयास भइरहेको बताउनुभयो । बैठकको समय र ठाउँ भने बताइएको छैन । पार्टी एकताकै लागि निर्णय लिन दुवै पार्टीले एकता संयोजन समितिसमेत गठन गर्ने भएका छन् । त्यसका लागि निर्णयमा पुग्न एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम तथा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू श्रेष्ठ र रामबहादुर थापाले जिम्मेवारी पाएका छन् ।

आइतबार बसेको एमाले स्थायी समिति र माओवादी केन्द्रको हिजो बसेको सचिवालय बैठकले थप छलफल गरी निर्णयमा पुग्न जिम्मेवारी दिएको हो ।स्रोतका अनुसार आज शीर्ष नेतृत्वबीचको छलफलले चुनावी तालमेलको रणनीति बनाउने र चुनावलगत्तै पार्टी एकता गर्ने गरी तत्काल एकता संयोजन समिति गठन गरेर जाने तयारी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *