बामपन्थी पार्टी सँग सहकार्य गर्ने एमालेको निर्णय

काठमाडौं, असोज १५ । नेकपा एमालेले आउँदो चुनाबको लागि वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको छ । चुनावको रणनीति र उम्मेदवारबारे छलफल गर्न आज बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले सत्तारुढ माओवादी सँगको तालमेलको प्रयासलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो ।

एमाले सचिव प्रदिप ज्ञवालीले देशभक्त, प्रगतिशिल र वामपन्थी शक्तिसँग तालमेल गरेर अगाडी जाने निर्णय भएको जानकारी दिनुभयो । माओवादी सत्तारुढ दल भएकाले उसँग तालमेल गर्ने कुरा छलफलको क्रममा रहेको तर, निर्णय भने नभइसकेको पनि उहाँले बताउनुभयो । एमालेले चुनावी तालमेल कसरी गर्ने भनेर अन्तिम निर्णय गर्ने जिम्मा भने स्थानीय पार्टी कमिटीलाई नै दिएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने सरकारले निर्णय गरेको छ । चुनावका लागि उम्मेदवार छनोट र घोषणा पत्र निर्माण लगायतका विषयलाई पनि अघि बढाउने एमालेले जनाएको छ ।प्रदेश कमिटीको बैठकले आगामी असोज २२ र २३ गते उम्मेदवारहरुको सिफारिस स्थायी कमिटी बैठकमा प्रस्तुत गर्नुपर्ने छ । तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा २ सय ९४ स्थान जितेर एमाले पहिलो पार्टी बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *